उपनिर्वाचनमा गठबन्धन नगर्ने रास्वपाको निर्णय

हिमाल प्रेस २८ फागुन २०८० २१:०६
30
SHARES
उपनिर्वाचनमा गठबन्धन नगर्ने रास्वपाको निर्णय रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ। काठमाडौँमा सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

त्यस्तै प्रदेशसभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए। उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।

सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद् र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको ढकालले जानकारी दिए।

रास्वपाले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ। एमाले सांसद सुवास नेम्वाङको निधनपछि खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

बैठकले⁠ ⁠पार्टीको केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता दीपक अधिकारी (बर्दिया) र अधिवक्ता शान्ता थापा (अर्घाखाँची) लाई मनोनयन गरेको छ।

यसैगरी इश्रामुल्ला मिया प्रमुख र कुमारबहादुर थापा क्षेत्री सदस्य रहने गरी केन्द्रीय जनसम्पर्क विभाग गठन गरिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ फागुन २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =