जसै सुरु भयो बालन नृत्य…

विवेक विवश रेग्मी २४ चैत २०८० १७:४४
248
SHARES
जसै सुरु भयो बालन नृत्य… इटहरी २०, सुनसरीमा बालन खेल खेल्दै बालने टोली। तस्बिरहरू:  विवेक विवश रेग्मी।

सिमलका गाथी चढी लक्ष्मणले हेरे, कतै पनि देखेनन्, पानी
जाऊजाऊ नानी लक्ष्मण, हृदय जल पानी खोजेर ल्याऊ न !
वरर हेरे, परर हेरे लक्ष्मणले, कहीँ पनि देखेनन् पानी
कर्कलाको पातमा पानी र ल्याए सीता थिइन् इन्द्रमा।

रामायणको घटनाका कथावस्तुलाई गीत बनाएर गीतकै तालमा नृत्य सुरु गरेपछि उपस्थित दर्शकले एकापसमा हेराहेर गरे। रातको ९ बजेपछि बालन नृत्य सुरु हुन्छ। सुरु हुनुअघि बालन खेल्ने समूहले दियो–कलश पूजा गर्छन्। त्यससँगै बालन खेल्नका लागि नेपाली पोसाकमा भेला भएका बालने टोलीलाई फूल,मालाले सम्मान गरिन्छ। खेल सुरु हुनुअघि पूजालगत्तै किताबको पाठ पढिन्छ। अनि सुरु हुन्छ श्लोकमा बालन नृत्य।

लय मिलाएर श्लोकमा गीत गाउँदै बालन नृत्य नाचिन्छ। पुरुषको समूहले श्लोक भट्याउँदै खेल खेल्छन्। कहिल्यै बालन नहेरेका स्थानीय मानिस आश्चर्यचकित हुँदै मन्त्रमुग्ध बन्छन्। नेपाली हिन्दु धर्मावलम्बीहरूले घरमा पूजाआजा वा शुभकार्य गर्दा जाग्राम बस्ने क्रममा बालन खेल खेल्ने प्रचलन छ। जाग्राम बस्दा आफ्ना मनको इच्छा पूरा हुने र मनका कुराहरू संकल्प गरेर जाग्राम बसियो भने सिद्ध हुन्छ भन्ने मान्यता छ।

‘जसरी राम र सीताको मनको इच्छा पूरा भएको थियो, त्यसरी नै मनदेखि नै गरेको इच्छा पूरा हुने मान्यताअनुसार बालन खेल खेलिन्छ,’ बालन नृत्य गर्दै आएका गणेशप्रसाद पौडेल भन्छन्, ‘भगवान राम र सीताको कहानी श्लोकमा उल्था गरेर शब्दलाई खेलमा परिणत गरिन्छ।’

उनले राम र सीताको कथालाई खेल खेलेर जाग्राम बस्ने माध्यम बनाइएको सुनाए। उदयपुरको चौदण्डीगढी–१० का पौडेलसहित पाँचजनाको समूह निकै वर्षअघिदेखि बालन खेल खेल्दै आएको छ। यो समूह कोशी प्रदेशका विभिन्न जिल्लामा बालन खेलमा सक्रिय छ। बालन खेल पाँचजना भन्दा बढी जति जनाले पनि खेल्न सकिने उनले बताए। आफूले हालसम्म एक सय बढी स्थानमा बालन खेल खेलेको उनको भनाइ छ।

समूहमा पौडेलसहित गोविन्द दाहाल, लक्ष्मण कटवाल, कृृष्ण भण्डारी र तिलक भण्डारी रहेका छन्। साबिकको खोटाङ जिल्ला निवासी उनीहरू हाल उदयपुरको चौदण्डीगढीमा छन्। कहीँ शुभकार्य हुँदा आफूहरूलाई खबर आउने र रातभर बालन खेल खेलेर जाग्राम बसिने पौडेलले बताए। ‘बालन दुई प्रकारले खेलिन्छ। एक–सीता भारतको कथा र अर्को रामायणको कथा हो,’ उनी भन्छन्, ‘दुईमध्ये एक खेलिन्छ। विभिन्न तरिकाबाट खेल्न सकिने खेल भए पनि हामीचाहिँ सीता भारतको कथामा खेल खेल्छौँ।’

बालन खेल खेल्नुअघि जुन घरमा शुभकार्य गरिएको हुन्छ, त्यस घरका कुलदेवता, पितृदेवता, देशभरका देवीदेउताको नाम पुकारेर, ‘सबैलाई रक्षा गर है !’ भनेर सुरुआत गरिने पौडेल बताउँछन्। उनका अनुसार किताबमा भएको शब्द उतारेर बालनको शब्द दिनेलाई ‘खलिपा’ भनिन्छ। ‘खलिपा’ले शब्द दिएपछि खेल सुरु हुन्छ। खेलका लागि श्लोक हुन्छ। पुस्तकमा भएका दुई सय श्लोक रातभरमा सक्नुपर्ने हुन्छ। पौडेलले भने, ‘ठाउँठाउँ खेल खेल्ने आफ्नाआफ्नै तरिका हुन्छ। बीचबीचमा भजनकीर्तन पनि हुन्छ। बिहानको समयमा आशीर्वाद दिने कार्य हुन्छ।’

दर्शक तथा भक्तजनहरूले सुरुदेखि अन्त्यसम्म सुन्ने र हेर्ने हो भने अत्यन्त मार्मिक लाग्ने गरेको प्रतिक्रियासमेत आउने उनी बताउँछन्। ‘ठाउँ र परिवेशअनुसार भगवानका अवतारहरूको नक्कलसमेत गरिन्छ,’ पौडेल भन्छन्, ‘बालन खेल खेल्नेले सुरुदेखि अन्तिमसम्म गम्भीर भएर खेल्नुपर्छ। निद्राको मायाले गर्दा दर्शकहरू सुत्नुहुन्छ। सुरुदेखि अन्तिमसम्म शब्द सुनेर त्यहाँको दृश्य हेर्ने हो भने मार्मिक रहेछ भन्ने बुझिन्छ।’

बालन खेल खेल्न आएका अर्का व्यक्ति गोविन्द दाहालले पछिल्लो समयमा भजन, कीर्तन र वाद्यवादनको तालमा मानिस रमाए पनि पुराना पुस्तामा बालनप्रति अझै मोह रहेको बताए। उनले मनको इच्छा पूरा हुने विश्वासले यो खेल खेल्ने गरेको बताए। ‘सन्तान नहुनेले पनि पनि यो खेल खेलाउँदा सन्तान हुने, दुःखाइ पीडाको अवस्थापछि सत्मार्गको बाटोमा हिँड्नका लागि पनि यो खेल खेलाइन्छ,’ दाहालले भने, ‘जाग्राम बसेर योे खेल खेलिसकेपछि बालन खेल्नेहरूले दिएको आशिक लाग्छ भन्ने विश्वास छ।’

पुर्ख्यौलीदेखि नै यो खेल खेल्नका निम्ति प्रेरित भए पनि पछिल्लो पुस्ता भने यस खेलमा उत्साहित नभएकोमा उनको चिन्ता थियो। नयाँ पुस्ताले पुराना संस्कृतिलाई जगेर्ना गर्नुपर्ने उनी बताउँछन्। युवा पुस्ता बाह्य गीत, संगीत र पश्चिमा संस्कृतिमा केन्द्रित भएकोमा उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘बालन खेलको संरक्षण गर्न पुराना पुस्ता जति छन्। उनीहरूले नयाँ पुस्तालाई यसमा केन्द्रित गराउन सकेनन्। नयाँ पुस्ताले यसबारे चासो नदिँदा बालन खेल लोप हुने स्थितिमा पुग्यो।’

पछिल्लो पुस्ता यो खेलमा केन्द्रित हुन इच्छुक भएमा आफूहरू सिकाउन तयार भएको पौडेलले बताए। ‘हामी सिकाउन तयार भएपनि नयाँ पुस्ता सिक्नका लागि इच्छुक छैनन्। समय नै त्यस्तै छ’, उनले भने। सीता भारत भन्ने शब्द भगवान् सीता र रामको कथामा केन्द्रित रहेको उनले बताए। दुई सय श्लोक सकेपछि देवीदेउता र त्यसबाहेकका देउताका नाममा शब्दलाई श्लोक बनाएर बालन खेल्ने गरिन्छ। बिहानको कार्यक्रम देवीदेउताकै नाम लिएर आशीर्वाद दिइने उनले बताए।

खेल खेल्नेलाई कति पारिश्रीमक दिनुपर्छ भन्ने जिज्ञासामा पौडेलले भने, ‘जुन घरमा कार्य हुन्छ, त्यो घरधनीले आफैँ बुझेर पारिश्रमिक दिने हो। बालन खेल खेल्दा कुनै दररेट छैन।’

बालन खेलकै कारण विवाह भयो…

तत्कालीन खोटाङको साउनेचौर ८ का गणेशप्रसाद पौडेल ११ वर्षका मात्रै थिए। गाउँमा स्वस्थानीपूजाको साङ्गे थियो। गाउँका अग्रजहरूले बालन खेल खेल्न सुरु गरे। उनी त्यसबेला बालन नृत्य हेर्न गए। कलिलो मष्तिष्कमा बालन खेलको छाप गहिरो गरी बस्यो। चाख लाग्दै गएपछि उनी रातभर जाग्राम बसे।

‘रातभर बालन खेल खेलेपछि खेल्नेहरूलाई सेल रोटी खान दिए। त्यहाँ बालन हेर्न आउने कसैलाई दिएनन्,’ पौडेल सम्झन्छन्, ‘अनि मलाई लाग्यो कि, बालन खेल खेल्नेले रोटी खान पाउनेरहेछन्। रोटी खान पाइन्छ भनेर नै मैले बालन सिक्ने प्रण गरेँ।’

उनले त्यस समय गोठमा गएर सुतेको र आफूले कसैगरी पनि बालन खेल खेल्ने प्रण गरे। गुरुहरू मानबहादुर राउत र स्व. गंगाप्रसाद निरौलाले पौडेललाई बालन खेल खेल्न सिकाए। १४ वर्षको उमेरदेखि बालन खेल्न सिकेका उनी १७ वर्षको उमेरमा खोटाङको पुरानागाउँमा बालन खेल्न गए। त्यसक्रममा स्थानीय मानिस आफ्नो कलाप्रति आकर्षित बनेको उनी सम्झन्छन्।

‘खोटाङको पुरानागाउँ वडा नं. ४ स्थित दुर्गाप्रसाद अधिकारीको घरमा बालन खेलियो। जाग्रामको कार्यक्रम हुँदा त्यहाँका अभिभावकले यो केटालाई हाम्रै गाउँकी छोरी दिएर आउनेजाने वातावरण बनाउन पाए गाउँ नै उज्यालो हुने थियो भनेर जिस्काउनुभयो,’ उनले विगत स्मरण गरे, ‘त्यसैबेला सीताराम ढकालकी छोरी निर्मला ढकालसँग विवाह भयो। मेरो विवाहको एक कारण बालन खेल पनि हो।’

प्रकाशित: २४ चैत २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =