एक हप्तामा २८ जनामा कोरोना संक्रमण

हिमाल प्रेस २० चैत २०८० १९:१६
132
SHARES
एक हप्तामा २८ जनामा कोरोना संक्रमण फाइल तस्बिर

काठमाडौँ- मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना संक्रमण देखिएको छ। ती संक्रमित भारतबाट सुदूरपश्चिम आएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना संक्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन्।

‘मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्,’ उनले भने, ‘तर बाहिर हल्ला गरेजस्तो कोरोना संक्रमित अस्पतालमा छैनन्।’

निर्देशक डा. बसौलाका अनुसार अहिले तीन संक्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन्। अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन-१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताए।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए। कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २० चैत २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =