विद्यालय कर्मचारीको पाल्पा जिल्ला परिषद् सम्पन्न, शिक्षा विधेयकमाथि चर्चा

हिमाल प्रेस १९ चैत २०८० १६:२७
730
SHARES
विद्यालय कर्मचारीको पाल्पा जिल्ला परिषद् सम्पन्न, शिक्षा विधेयकमाथि चर्चा

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् पाल्पाको जिल्ला परिषद् सम्पन्न गरिएको छ। जिल्ला कार्यसमिति अध्यक्ष श्रीधरप्रसाद पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरे। परिषद्मा शिक्षा विधेयकमा विद्यालय कर्मचारीका हकअधिकारबारे समाविष्ट बुँदाहरूमाथि चर्चा गरिएको छ।

अध्यक्ष पाण्डेले २०७९ र ०८० सालको कर्मचारी आन्दोलनको उपलब्धिका रूपमा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० संसदबाट प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको बताए।

उक्त विधेयक हाल विचाराधीन छ। पाण्डेले विद्यालय कर्मचारीसँग सरकारले गरेका सहमति अक्षरसः समेटेर विधेयकलाई ऐनको रूपमा ल्याउन माग गरे। अन्यथा पाल्पा जिल्लाबाटै दबाबमूलक आन्दोलन सुरुवात गर्ने चेतावनी दिए। त्यसका लागि तयारी अवस्थामा रहन पनि उनले आमविद्यालय कर्मचारीलाई अनुरोध गरे।

२०४७ साल फागुन २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई राष्ट्रिय समितिले सामुदायिक विद्यालयका कर्मचारीहरूको पेसागत समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण तथा समाधान गर्दै आएको छ।

जिल्ला परिषद्को अवसरमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शुभकामना दिएका छन्। उनले भने,‘सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरू। २०४७ सालमा स्थापना भएको साझा संस्था, सम्पूर्ण विद्यालय कर्मचारीहरूको आशावादी संस्था रहँदै आएको छ।’

कार्यक्रम सञ्चालन जिल्ला सचिव युवराज पौडेलले गरेका थिए भने पालिका कमिटी अध्यक्ष तथा पदाधिकारीहरू एवं जिल्ला कमिटीका अध्यक्षले आफनो पालिकाको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रमका पालिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए।

प्रकाशित: १९ चैत २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =