शिक्षामन्त्रीलाई परिषद्ले गरायो विद्यालय कर्मचारीको पेसागत समस्याबारे जानकारी

हिमाल प्रेस १० चैत २०८० १४:०३
6.3k
SHARES
शिक्षामन्त्रीलाई परिषद्ले गरायो विद्यालय कर्मचारीको पेसागत समस्याबारे जानकारी

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी कायम गरिदिन एक पत्रमार्फत आग्रह गरेको छ।

शुक्रबार सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगेर कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीसहितले नवनियुक्त मन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै आमविद्यालय कर्मचारीको पेसागत अवस्थाबारे जानकारी गराएको हो।

पत्रमा भनिएको छ,‘लेखाको कर्मचारीले मासिक १३ हजार ५०० र विद्यालय सहयोगी कर्मचारीले मासिक ८ हजार अनुदानको तलबमा काम गर्न बाध्य बनाइ रहेको कुरा यहाँलाई सर्वविदितै छ। पटकपटक आन्दोलन सम्झौता अनि सरकारबाट धोका पाएका हामी विद्यालय कर्मचारीहरूलाई कहिलेसम्म यसै गरी झुलाएर राख्ने भन्ने हाम्रो प्रश्न छ। तसर्थ अन्य अनुदानमा कार्यरत शिक्षक, राहत शिक्षक र अस्थायी सेवामा कार्यरत शिक्षकलाई पुरै तलबमान दिन मिल्ने तर विद्यालयका भौतिक एवं प्रशासनिक कार्यमा कार्यरत विद्यालय कर्मचारीहरूलाई तलबमान पनि दिन आनाकानी गरेको यो परिवेशमा यहाँको पहलकदमीमा कम्तीमा पनि दुई तहका कर्मचारीहरूको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा तलबमान कायम गराइदिनु भई झन्डै ३५ हजार विद्यालय कर्मचारीका भरोसामा ज्यान पाल्नु भएका १,२०,००० (एक लाख बीस हजार) घर परिवारका सदस्यले हातमुख जोड्ने कार्यलाई यहाँको आवगमन सँगै यो काम हुनेछ भन्ने पूर्ण आशावादी सहित यो निवेदन पेस गर्दछौं।’

अध्यक्ष तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा हस्ताक्षरित पत्रमा यसभन्दा अगाडि पूर्वमन्त्रीका मन्त्रीस्तरीय निर्णयको कार्यान्वयनमा मन्त्री श्रेष्ठको भूमिका अतुलनीय रहने विश्वास गर्दै आशा भरोसा राखेको उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =