कला केन्द्रका रूपमा पहिचान बनाउँदै इटहरी [तस्बिरहरू]

विवेक विवश रेग्मी १० चैत २०८० १४:५८
158
SHARES
कला केन्द्रका रूपमा पहिचान बनाउँदै इटहरी [तस्बिरहरू]

इटहरी- फागुन २९ गतेदेखि इटहरीमा सुरु भएको प्रादेशिक ललितकला प्रदर्शनी शुक्रबार समापन भएको छ। इटहरी म्याट्रिक्समा गरिएको प्रदर्शनीमा प्रदेशभरका एक सय ६२ कलाकारका चित्र र मूर्ति राखिएका थिए।

चित्र तथा मूर्तिहरूले जीवनबारे, मृत्युबारे, पर्यावरणबारे, संस्कृतिबारे, इतिहासबारे अनुभूतिको गहिराइमा पुर्‍याउँछन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहआयोजनामा भएको प्रदर्शनी करिब चार हजार दर्शकले अवलोकन गरेका छन्।

इटहरी मेट्रिक्सका अध्यक्ष तथा आयोजक समितिका सहसंयोजक विक्रम श्रीले यसपटक काठमाडौँबाहिर यो किसिमको ललितकला प्रदर्शनी हुनुले कलाकारमा समेत सकारात्मक ऊर्जा मिलेको बताए।

‘यो किसिमको ललितकला प्रदर्शनी सधैँ काठमाडौँमा हुन्थ्यो, यसपटक केन्द्रीकृतबाट विकेन्द्रीकृत भएको छ,’ उनले भने, ‘हालसम्म सातै प्रदेशमध्ये कोशी प्रदेशमा सबैभन्दा लामो प्रदर्शनी र सबैभन्दा बढी सहभागी भएका छन्।’

उनका अनुसार इटहरीमा भएको प्रदर्शनीमा अन्य प्रदेशका भन्दा बढी कलाकारको चित्र र मूर्ति प्रदर्शनी गरिएको छ। ललितकलाभित्र चित्रकला, मूर्तिकला, लोककला, वास्तुकला, छविचित्र, भिडियो आर्ट, पर्फर्मिङ आर्ट र प्रतिस्थापन कला समावेश गरिएको उनले बताए। उक्त प्रदर्शनी ऐतिहासिक भएको श्रीको दाबी छ।

‘कलाको महोत्सव हो। इटहरी कलाका केन्द्रका रूपमा स्थापित भइरहेको छ,’ उनले भने, ‘नाटक र कलामा हामी धेरै अगाडि छौँ।’ ललितकला क्षेत्रको विकासका निम्ति ललितकला प्रदर्शनी आयोजना गरिएको उनले बताए।

प्रदर्शनीमा राखिएका कला छनोट हुने र पुरस्कृत हुने उनको भनाइ छ। छनोट समितिले उत्कृष्ट कलालाई छनोट गर्ने र छनोटमा परेकाहरू राष्ट्रिय प्रतियोगितामा समेत भाग लिन पाउने श्रीले बताए।

प्रदर्शनीमा प्रतियोगी र अप्रतियोगी कलाकृति समावेश छन्। प्रदर्शनीमा कोशी प्रदेशका विभिन्न स्थानबाट आएका कवि, लेखक, कलाकार साथै विभिन्न विद्यालयबाट विद्यार्थीले अवलोकन गरेका थिए।

आयोजक समितिका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईका अनुसार प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्येबाट प्रतिष्ठानको नियम र मापदण्डका आधारमा निश्चित कलाकृतिहरूलाई विज्ञहरूको टोलीबाट छनोट गरिनेछ।

छनोटपछि राष्ट्रिय ललिलतकला प्रतियोगितामा पठाइनेछ। राष्ट्रिय प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट ठहर भएका कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार गरी तीन वर्गीकरणमा पुरस्कृत गरिने उनले बताए।

प्रकाशित: १० चैत २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =