धरानमा युवती हत्याका छजना आरोपित पक्राउ

हिमाल प्रेस ९ चैत २०८० ८:४०
116
SHARES
धरानमा युवती हत्याका छजना आरोपित पक्राउ

इटहरी- प्रहरीले धरानमा घाँटी रेटेर युवती हत्या घटनाका छजना आरोपितलाई पक्राउ गरेको छ। बुधबार धरान-१८ स्थित खोल्सीमा धरान-१६ की २१ वर्षीया सुमना श्रेष्ठको शव बीभत्स अवस्थामा फेला परेको थियो।

शव फेला परेसँगै प्रारम्भिक अनुसन्धानअनुसार सुमनाको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो। हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले बिहीबार दिउँसो ४ बजेतिर धनकुटाको मूलघाटबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धरान रेल्वेलाइनमा बस्दै आएको सबिन भुजेलसहित छजना छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुजेललाई धनकुटाको मूलघाटबाट र अन्य पाँच जनालाई धरानकै विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान भइरहेको छ।

‘घटनामा मुख्य संलग्नता भने सबिनको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने,‘अन्य पाँच जनामाथि पनि शंका लागेर नियन्त्रणमा लिएका हौँ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट बाँकी कुरा पत्ता लाग्छ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ। अनुसन्धानपश्चात शुक्रबारै पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरिने प्रहरीको तयारी रहेको छ। ‘आज म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्छौँ,’प्रहरी अधिकृतले भने,‘घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’

घटनामा क–कसको संलग्नता रहेको छ भन्नेबारे अनुसन्धानले देखाउने उनको भनाइ छ। प्रहरीले यसअघि घटनामा संलग्नको पहिचानका लागि तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।

बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्। खोल्सामा घोप्टो अवस्थामा शव भेटिएको थियो। शव भन्दा केही मिटर दुरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको थियो।

प्रकाशित: ९ चैत २०८० ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =