खेती-किसानी

गाउँमै पैसा टिप्छन् मौलीपोखराका कृष्णप्रसाद

रमेश भारती ७ चैत २०८० ८:०४
804
SHARES
गाउँमै पैसा टिप्छन् मौलीपोखराका कृष्णप्रसाद

काठमाडौँ- अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ मौलीपोखराका ३७ वर्षीय कृष्णप्रसाद भुसाल १२ महिनाजसो बारीमा व्यस्त हुन्छन्। उनलाई न जागिरको चिन्ता छ न त घरबाट टाढा जानुपरेको छ। उनको आम्दानीको स्रोत बारीमा उत्पादन हुने तरकारी हो। तरकारी बिक्रीबाट आएको आम्दानी घरखर्चमा मात्रै प्रयोग गर्दैनन्, तरकारीखेती विस्तार पनि गर्दै आएका छन्।

बुटवल बहुमुखी क्याम्पसबाट स्नातक गरेपछि उनलाई कहाँ जाने र के काम गर्ने अन्योल भयो। सँगैका साथी कोही लोकसेवा आयोगको परीक्षा पास भएर सरकारी नोकरी गर्न थाले। कोहीचाहिँ साउदी र मलेसियामा गएर श्रममा जोतिन थाले। उनलाई भने यी दुवै नोकरी उपयोगी लागेनन्। सरकारी जागिर खाएर हाकिमको अरनखटन सहन र विदेशको गुलामी गर्न रुचि नदेखाएका उनले आफ्नै खेतबारीमा पैसा फलाउने सपना देखे। एक दशकदेखि निरन्तर श्रम गरिरहेका उनी गाउँमा सफल किसानका रूपमा परिचित हुन थालेका छन्।

आफ्नै गाउँमा केही गर्न सकिन्छ भनेर तरकारी खेतीमा लागेको भुसालले बताए। ‘जहाँ पनि पैसा कमाउन पसिना बगाउनुपर्छ। आफ्नै देशमा कृषि पेसा रोजेँ। यहीँ पसिना बगाइरहेको छ’, उनले भने।

भुसाल गाउँटोलमा सबैका प्ररेणाका स्रोत बनेका त छन् नै। साथै उनको नाम अर्घाखाँची जिल्लाको उत्कृष्ट १६ किसानको सूचीमा छ। उनी भन्छन्, ‘सबैले विदेशमा कमाउने जति पैसा आफ्नै गाउँमा कमाउँदैछस् भन्दा खुसी लाग्छ।’

सुरुमा सामान्य तरकारी खेती गरेका उनले उत्पादन र लगानी बढ्दै गएपछि ‘भुसाल फार्म’ दर्ता गरे। फार्ममा करिब सात लाख लगानी भएको उनी बताउँछन्। फार्ममा मौसमी तरकारी र तरकारीका बिरुवा उत्पादन हुन्छ। साथै काउली, बन्दा, गोलभेडा र प्याजका बिरुवा उत्पादन हुने गरेको छ। टनेलमा हरेक महिनाजसो गोलभेडा उत्पादन हुने उनी बताउँछन्। टमाटरको सिजन भएका कारण यति बेला उनलाई टिप्न भ्याइ–नभ्याइ छ।

‘पाँच रोपनी जग्गामा गोलभेडा खेती गरेको छु। अझै खेती विस्तार गर्ने योजना छ’, भुसालले भने। काउली, बन्दा र बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने गरेको उनले बताए। उनले भने, ‘बजारीकरण गर्न पनि सजिलो छ। ग्राहक घरमै आएर लैजान्छन्।’

खेतीपातीबाट आएको कमाइले घरखर्च चलाउन सहज भएपछि गाउँमै बसेर पैसा कमाउन सकिन्छ भन्ने आत्मविश्वास बढ्दै गएको उनले बताए। ‘कृषिमा विश्वास र श्रम गर्दा गाउँमै बसेर केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ। युवामा यस्तो भावना भएमा कृषि पेसा फस्टाउँछ’, उनले भने। उनले फार्ममा काम सघाउन कहिलेकाहीँ खेताला लगाउने गरेका छन्। अन्य बेला पत्नीले साथ दिएकी छन्।

कृषिलाई अर्थतन्त्रसँग जोड्नुपर्ने सुझाव भुसालको छ। वैदेशिक रोजगारीबाट फर्किएका र जान लागेका युवालाई कृषि पेसामा ल्याउन सरकारले पहल गर्नुपर्ने उनी बताउँछन्। स्वदेशमै तरकारी उत्पादन बढेमा तरकारी आयात बन्द हुने उनको बुझाइ छ।

भुसालले वार्षिक १२ सय क्विन्टल तरकारी उत्पादन गरिरहेको जानकारी दिए। मौसमले साथ दिए वार्षिक दुई हजार क्विन्टल तरकारी सहजै उत्पादन गर्न सकिने उनी बताउँछन्। उनले वर्षिक १० देखि १२ लाखका तरकारी उत्पादन गरी बजारमा बिक्री गर्दै आएका छन्। खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँसम्म नाफा हुने उनी सुनाउँछन्।
भुसाल भन्छन्, ‘यस वर्ष ३५ हजार रुपैयाँको गोभीका बेर्ना बेचेँ। प्याजको बेर्नामा ६ हजार लगानी गरेर ८० हजार कमाइ भयो।’ उनले यसपटक पनि प्याजको ब्याड राखेका छन्। ५ किलो प्याजको बेर्ना उत्पादन गरेर ८० हजार रुपैयाँमा बेच्ने भुसालको लक्ष्य छ।

भुसालले तरकारी खेतीका लागि जग्गा भाडामा लिएका छन्। जग्गाको वार्षिक भाडा ३० हजार रुपैयाँ रहेको उनको भनाइ छ। फार्ममा उत्पादन भएको तरकारी स्थानीय बजारमा बिक्री हुन्छ।

एकल रूपमा खेती किसानी गरिरहेका भुसालले सरकारबाट कृषिमा दिने भनिएको अनुदान रकम पाएका छैनन्। केही कृषि औजारमा गाउँपालिकाबाट अनुदान पाए पनि किसानले पाउने अनुदान नपाएको उनले बताए। ‘सरकारले बजेट भाषणमा पनि किसानलाई अनुदान दिने भनेको हुन्छ। हामीजस्ता ग्रामीण किसानसम्म अनुदान आइपुग्दैन’, उनले भने।

अनुदानभन्दा व्यवस्थित बजार, आधुनिक प्रविधिको तालिम, कृषिका लागि आवश्यक औजार र सिँचाइको व्यवस्था हुनुपर्ने उनको माग छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषि उत्पादनका लागि अधिकतम २० लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ। स्थानीय तहमा दर्ता गरेको फार्म र व्यवसायीका आधारमा अनुदान वितरण हुने गरेको कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा बताउँछन्। अनुदान रकम कृषि मन्त्रालयअन्तर्गतका प्रदेश र जिल्लामा रहेका कार्यालयहरूबाट उपलब्ध हुने शर्माले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =