बागमती प्रदेशमा बढ्यो हानेपाको बार्गेनिङ पावर, मुख्यमन्त्रीमा दाबी

हिमाल प्रेस ४ चैत २०८० १४:१०
16
SHARES
बागमती प्रदेशमा बढ्यो हानेपाको बार्गेनिङ पावर, मुख्यमन्त्रीमा दाबी

काठमाडौँ- केन्द्रीय स्तरमा गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा पनि राजनीतिक परिवेश फेरिएको छ। कांग्रेस–माओवादी गठबन्धन हुँदा सहज बहुमत पुगेका प्रदेशमा पछिल्लो एमाले–माओवादी गठबन्धनमा अल्पमतमा परेका छन्।

यही कारण प्रदेशको नेतृत्व अहिले अल्पमतमा परिरहेको छ। उनीहरूले बहुमत पुर्‍याउन कुनै न कुनै ठूला दलसँग सहकार्य गर्नुपर्ने बाध्यता छ। साना दलको पनि बार्गेनिङ पावर बढेको छ। यसैको एक उदाहरण हो, बागमती प्रदेश सरकार। नयाँ गठबन्धन अनुसार बागमती सरकार अहिले अल्पमतमा छ।

माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेल बहुमत जुटाउन दौडधुप गरिरहेका छन्। मुख्यमन्त्री कट्टेलले सरकार बचाउन हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)सँग प्रस्ताव राखेका छन्। तर साना दलमध्ये हानेपाले आफै मुख्यमन्त्री लिने निर्णय गरेको छ। यदि ठूला दलले मुख्यमन्त्री नदिए कसैलाई सहयोग नगर्ने हानेपाको निर्णय छ। हानेपाको बागमती प्रदेशमा २ सांसद छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा बसेको पार्टीको बैठकले बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको दाबी गर्दै नेतृत्व पाए मात्रै सरकारमा जाने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता डिल्लिश्वोर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बागमती प्रदेश सरकारको नेतृत्व पाए मात्रै सरकारमा सहभागी हुने नत्र कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरिएको उल्लेख छ।

फेरिएको केन्द्रीय सत्ता समीकरणका कारण बागमती प्रदेशको सरकार गठनका लागि हानेपा निर्णायक छ। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभामा ११० सांसद छन्। यहाँ सरकार गठनका लागि ५६ सांसद संख्या चाहिन्छ।

केन्द्रीय सत्ता समीकरण अनुसार एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी ५५ मात्रै हुन्छ। हानेपाको २ सिटले समर्थन गर्दा बहुमत पुग्ने अवस्था रहन्छ।

निरन्तर सरकारलाई समर्थन गर्दै आएको हानेपाले यो पटकको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको हो।

प्रकाशित: ४ चैत २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =