खेती-किसानी

बाख्रापालनमा रमाएका पदमबहादुर

रमेश भारती ३० फागुन २०८० ७:५१
756
SHARES
बाख्रापालनमा रमाएका पदमबहादुर

काठमाडौँ-  कुरा २०५२ सालतिरको हो। पदमबहादुर ऐर २२ वर्षका थिए। विद्यालय शिक्षा गाउँमै पूरा गरेका उनी कामको खोजीमा थिए। दौँतरीहरू भारततिर लागे। कोहीले मलेसिया र कोही खाडी मुलुकमा काम गर्न जाने तयारी जुटे। ऐरचाहिँ के गर्ने भन्ने दोधारमा थिए।

डडेल्धुरा परशुराम नगरपालिका-११ पल्गढीका ऐरलाई गाउँमै केही गर्न मन लाग्यो। उनको रोजाइ बन्यो बाख्रापालन। थोरै लगानीमा पनि गर्न सकिने भएकाले बाख्रापालन गर्न थालेको ऐरले बताए। अहिलेसम्म आइपुग्दा उनले बाख्रा पालक किसानका रूपमा पहिचान बनाइसकेका छन्।

 ‘नीलकण्ठ बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गर्दै आएको उनले बताए छन्। २८ वर्षअघिका ती दिन सम्झँदै ऐर भन्छन्, ‘दौँतरीहरू वैदेशिक रोजगारीमा भारत, मलेसिया र खाडीको देश गए। मलाई चाहिँ गाउँमै केही गरेर बस्न मन लाग्यो। बाख्रापालन रोजेँ।’

ऐरको फार्ममा जमुनापारी, तोतापुरी र सिरोही जातका बाख्राका पाठापाठी उत्पादन हुन्छन्। अहिले फार्ममा ५० वटाभन्दा बढी पाठापाठी, बोकाखसी र माउ बाख्रा छन्। दैनिक व्यापार हुने भएका कारण खोरमा यति नै बाख्राका पाठापाठी हुन्छन् भन्ने यकिन नहुने उनी बताउँछन्। उनले यी जातका पाठापाठी उत्पादन गरी पछिल्लो समय अनलाइनमार्फत देशका विभिन्न स्थानमा व्यापार गर्दै आएका छन्।

ऐरले सुरुमा ४-५ वटा स्थानीय बाख्रापालन थालेका थिए। उनले भने, ‘यति नै लगानी गर्ने भन्ने थिएन। सानो संख्यामा बाख्रा पालन थालेँ। अहिले ३० लाखभन्दा बढी लगानी भएको छ।’

बाख्रापालनबाट आएको कमाइले घरखर्च, कामदारलाई पारिश्रमिक दिन र छोराछोरीलाई पढाउन समस्या नभएको ऐरले बताए। दुर्गम भएका कारण किसानले माग गरेको समयमा पुर्‍याउन भने उसलाई समस्या छ। उनी भन्छन्, ‘अहिले त अनलाइनबाटै किसानले बाख्राका पाठापाठी मगाउँछन्। विकट गाउँमा फार्म भएका कारण सेवाग्राहीलाई समयमा सेवा दिन नसक्दा व्यापारमा समस्या छ।’

उनले वार्षिक ६ लाख रुपैयाँको पाठापाठी व्यापार गर्छन्।  ऐरले भने, ‘सबै खर्च कटाएर ४ लाख जति फाइदा हुन्छ। यो रकम पनि बाख्रा पालनमै लगानी हुन्छ।’ दुर्गम गाउँ भएका कारण खर्च पनि बढी हुने उनी बताउँछन्।

सरकारले बजार र अन्य क्षेत्रमा सहयोग गरे आफ्नो फार्मका पाठापाठी भारतीय बजारमा पनि व्यापार गर्न सकिने ऐरले बताए। ‘नेपाली बाख्राका पाठापाठी भारतीय बजारमा व्यापार गर्न सकिन्छ। माग पनि छ। भान्सार र बजारको समस्या छ’, उनले भने।

सरकारले कृषि क्षेत्रलाई व्यवस्थित गरे नेपालमा मासु आयात गर्न नपर्ने उनको भनाइ छ। ‘बाख्रापालनमा सरकारले लगानी गर्ने हो भने स्वदेशमा उत्पादित मासुले माग धान्छ’, उनले भने।

ऐरले बाख्राका लागि कञ्चनपुरबाट नुन बोकेर ल्याउने गरेका छन्। उनको घरबाट नुन किन्न कञ्चनपुर जानुपर्छ। गाउँमा काम गर्ने मान्छे त्यति छैनन्। खेतीयोग्य जमिन पनि बाँझै छ। सरकारले त्यस्ता जमिनलाई कृषि गर्न विशेष योजना ल्याउन सकेको छैन। उनी भन्छन्, ‘अहिलेको सबैभन्दा ठूलो समस्या यही हो।  गाउँका खेतीयोग्य जमिन बाँझो बनाएर युवा वैदेशिक रोजगारीमा गएको देख्दा मलाई अचम्म लाग्छ।’

किसानलाई सरकारबाट दीर्घकालीन हितका योजना आउन नसकेको उनको गुनासो छ। ‘देशमा राजनीतिक परिर्वतन भयो। जनताले आफ्नो अधिकार पनि पाए तर किसानका समस्या उस्तै छन्। तत्काल सुध्रिने अवस्था पनि देखिँदैन’, उनले भने, ‘सरकारले कृषिमा लगानी गरेको छ। तर त्यो लगानी खोइ कुन किसानमा पुगेको छ थाहा छैन।’

सरकारले कृषिमा ठूलो रकम अनुदान दिए पनि ऐरजस्ता गाउँका किसानले पाउन सकेका छैनन्। गाउँघरमै बसेर काम गरिरहेका किसानले सहुलियत पाउन नसकेको उनको गुनासो छ। स्थानीय सरकारसँग ऐरीले खोर बनाउन पटकपटक आग्रह गरे पनि बेवास्ता गर्दै आएको बताए। उनले भने,’उत्पादनका उचित बजार, प्रविधि र चौपायाका लागि औषधिउपचारको व्यवस्था गरेमा आफूजस्ता गाउँमा बसेर व्यवसाय गरिरहेका किसानलाई राहत हुने थियो। किसानको यति मात्र अपेक्षा छ। अरू त आफैँ गरिहाल्छौँ नि।’

प्रकाशित: ३० फागुन २०८० ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =