२५ औँ फ्लोरा एक्स्पो चैत पहिलो साता

हिमाल प्रेस २८ फागुन २०८० १७:२७
22
SHARES
२५ औँ फ्लोरा एक्स्पो चैत पहिलो साता

काठमाडौँ- २५ औँ फ्लोरा एक्स्पो चैतको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चैत १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डपमा मेला पुष्प मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।

‘स्वच्छ वातावरण तथा आर्थिक समृृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सीताराम पन्तले जानकारी दिए।

एक्स्पोमा व्यावसायिक स्टल ६० वटा, ल्यानडस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा र फुड स्टलसहित ७३ वटा स्टल रहनेछन्।
मेलामा आलंकारिक बोटबिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्रीलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछन्।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेसमेत आयोजकले जनाएको छ। एक्स्पो अवधिभर ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा करिब एक करोडसम्मको व्यावसायिीक कारोबार हुने अपेक्षा लिएको मेला संयोजक पन्तले बताए।

देशभरका ४८ जिल्लामा करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएसनले जनाएको छ। आर्थिक बर्ष ०७९/८० मा तीन अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको एसोसिएसनको भनाइ छ। त्यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.६३ प्रतिशतले वृद्धि हो।

प्रकाशित: २८ फागुन २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =