विद्यालय कर्मचारी परिषद्ले मनायाे ३३औँ स्थापना दिवस, तत्काल शिक्षा ऐन जारी गर्न माग

हिमाल प्रेस २६ फागुन २०८० १९:४०
2.9k
SHARES
विद्यालय कर्मचारी परिषद्ले मनायाे ३३औँ स्थापना दिवस, तत्काल शिक्षा ऐन जारी गर्न माग

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्को ३३औँ स्थापना दिवस तथा जुम्ला जिल्लाको जिल्ला परिषद् भव्यरूपमा सम्पन्न गरिएको छ।

जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर शाहीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले एकजुट भएर पेसागत मागमुद्दा पूरा गराउन सरकारलाई दबाब दिनुपर्ने बताए।

महासचिव योगीले २०७९ र ०८० सालको कर्मचारी आन्दोलनको उपलब्धिका रूपमा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० संसदबाट प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको बताए।

उक्त विधेयक हाल विचाराधीन छ। योगीले विद्यालय कर्मचारीसँग सरकारले गरेका सहमति अक्षरसः समेटेर विधेयकलाई ऐनको रूपमा ल्याउन माग गरे। अन्यथा जुम्ला जिल्लाबाटै दबाबमूलक आन्दोलन सुरुआत गर्ने चेतावनी दिए। त्यसका लागि तयारी अवस्थामा रहन पनि उनले आमविद्यालय कर्मचारीलाई अनुरोध गरे।

त्यसैगरी परिषद्को आगामी चैत १३ गते बस्ने जिल्ला कार्यसमिति जुम्लाको पूर्ण बैठकपश्चात् सम्पूर्ण विद्यालय कर्मचारीहरूसँग भेटघाट तथा छलफल एवम् पुनर्जागरण अभियान देशभर सञ्चालन गर्ने निर्णय भएको पनि उनले बताए।

२०४७ साल फागुन २६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई राष्ट्रिय समितिले सामुदायिक विद्यालयका कर्मचारीहरूको पेसागत समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण तथा समाधान गर्दै आएको छ।

स्थापना दिवसका अवसरमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शुभकामना दिएका छन्। उनले भने,‘सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरू। २०४७ सालमा स्थापना भएको साझा संस्था, सम्पूर्ण विद्यालय कर्मचारीहरूको आशावादी संस्था आज ३३औँ वर्षमा प्रवेश गरेको छ। यस सुखद उपलक्ष्यमा सम्पूर्णमा हार्दिक शुभकामना।’

कार्यक्रम सञ्चालन सहसचिव नीमबहादुर रावतले गरेका थिए भने प्रदेश कमिटी सदस्यहरू, पालिका कमिटी अध्यक्ष तथा पदाधिकारीहरू एवम् जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरू सहभागी थिए।

प्रकाशित: २६ फागुन २०८० १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =