सेना दिवस : टुँडिखेलमा बढाइँ [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ फागुन २०८० १५:१४
16
SHARES
सेना दिवस : टुँडिखेलमा बढाइँ [तस्बिरहरू]

काठमाडौँ- नेपाली सेनाले शुक्रबार आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ। यसै अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए।

समारोहमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही-२०८०’ वार्षिक पत्रिका विमोचन गरे।

समारोहमा सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस-२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो।

सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो। सेनाको टोलीबाट नेपालको झण्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ।

 

प्रकाशित: २५ फागुन २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =