नारी दिवस विशेष

धैर्य र निरन्तर परिश्रमका साथ बैंकिङ करिअरमा अघि बढिरहेकी शोभा 

रमेश भारती २५ फागुन २०८० ८:१०
2.4k
SHARES
धैर्य र निरन्तर परिश्रमका साथ बैंकिङ करिअरमा अघि बढिरहेकी शोभा 

काठमाडौँ– बैंकिङ क्षेत्रमा धेरै नारीहरू ट्रेनी (प्रशिक्षार्थी) का रूपमा प्रवेश गर्छन्। कतिपयले त्यही क्षेत्रमा आफूलाई निरन्तरता दिन्छन् भने केहीले अर्कै पेसामा फड्को मार्छन्। पोखराकी शोभा कोइरालाले भने पढाइसँगैसँगै बैंकिङ करिअर सुरु गर्ने अवसर पाइन्। ग्राहक सेवा डेस्कबाट काम थालेकी उनी अहिले नबिल बैंक लिमिटेड बगर शाखाको शाखा प्रबन्धक छिन्। १५ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएकी शोभा केही वर्षअघि शाखाको नेतृत्वमा पुगेकी हुन्।

सहायकस्तरबाट शाखा प्रबन्धकको पदसम्म आउँदा धेरै चुनौती सामना गर्नुपरेको शोभा बताउँछिन्। पोखरा विश्वविद्यालयबाट बीबिएको उत्तीर्ण गरेपछि शोभाले बैंकमा जागिर सुरु गरेकी थिइन्। शोभाले अध्ययनलाई पनि निरन्तरता दिइन्। पृथ्वीनारायण (पीएन) क्याम्पसबाट एमबीएस गरेपछि पूर्ण रूपमा जागिरमा केन्द्रित भएको उनी बताउँछिन्।

करिअरमा सफलताको सूत्र के हो त? उनी भन्छिन्, ‘धैर्य र निरन्तर मेहनत।’ जागिर र घर व्यवस्थित गर्नुपर्ने भएकाले कामभन्दा पनि समय मिलाउन कठिन हुने उनले बताइन्। महिलालाई करिअर चुनौतीपूर्ण भए पनि परिवारको सहयोग पाएमा अघि बढ्न सकिने उनको अनुभव छ। ‘परिवारबाट सहयोग हुने हो भनेर हरेक समस्या सामान्य लाग्छ’, शोभाले भनिन्, ‘बैंकिङ क्षेत्रको जागिर सुरक्षित छ। जीवनशैली व्यवस्थित र सामान्य हुन्छ।’

पारिवारिक तथा सामाजिक दायित्व पूरा गर्नचाहिँ संघर्ष नै गर्नुपर्ने उनको बुझाइ छ। शोभाले भनिन्, ‘कहिलेकाहीँ सोचेअनुसार परिमाण नआउन सक्छ। हरेसचाहिँ खानु हुँदैन।’ महिला भएकै कारण कतिपय ग्राहकले काममा सहज मानेको उनी बताउँछन्।

‘ग्राहकलाई सम्झाउन, जिम्मेवार बन्न, ऋण चुक्तामा गम्भीर बन्न महिला कर्मचारीको सकारात्मक भूमिका हुँदो रहेछ। पुरुष कर्मचारीले भन्दा महिला कर्मचारीले डिल गरेका ग्राहकले समयमा ऋण तिर्ने गरेका छन्’, शोभाले  भनिन्। महिलाको नेतृत्वमा रहेका शाखामा ग्राहकले बैंकिङ सेवा राम्रो पाउनेमा उनी विश्वस्त छिन्।

शोभाका पति पनि बैंकिङ सेवामा छन्, त्यो पनि नबिलमै। उनीहरूका दुई सन्तान छन्। दुई सन्तानकी आमा, गृहिणी र सफल बैंकरका रूपमा पहिचान बनाइरहेकी शोभा प्राय: व्यस्त हुन्छिन्। घरायसी जिम्मेवारी पनि पूरा गरिरहेकी शोभा कार्यालकै लागि दैनिक  ११ घण्टा काम गर्नुपरेको बताउँछिन्। उनी भन्छिन्,’कार्यालय प्रमुख भएपछि आठ घण्टा मात्रै काम गरेर पुदोरहेनछ। अनेक प्रकारका काम आइपर्छन्। पूरा गर्नैपर्ने हुन्छ।’

महिला नेतृत्वमा हुँदा कार्यालय व्यवस्थित हुने उनको विश्वास छ। शोभाले भनिन्, ‘महिला नेतृत्व भएको बैंकले समग्र महिलाको स्थिति सुदृढ र स्तरोन्नति गर्न मद्दत गर्दछ। मेरो लक्ष्य पनि यसैमा केन्द्रित छ।’ परिवारमैत्री वातावरण हुने भएकाले समूह एकजुट भएर काम गर्नुपर्ने उनी बताउँछिन्। उनले भनिन्,‘महिलाहरू  बुद्धिमानी निर्णय गर्न सक्षम हुन्छन्। बुझ्ने व्यक्तिले महिला पनि पुरुषसरह काम गर्न अधिकार दिइरहेका छन्।’

बैंकको तल्लो तहमा महिलाको उपस्थिति भए पनि माथिल्लो तहमा कम छन्। बैंकिङ क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा समेत नेतृत्वमा महिला कम भएको शोभा बताउँछिन्। उनको बुझाइ नेतृत्वमा महिलालाई पुर्‍याउन विशेष तालिम दिएर अगाडि बढाउनुपर्छ।

शोभा आर्थिक साक्षरताका कार्यक्रममा सहभागी हुन्छिन्। साथै पैसाको बचत र लगानी व्यवस्थापन कसरी गर्ने भनेर महिलालाई सिकाउँदै आएकी छिन्। बैंकहरूले निक्षेप तथा कर्जा जारी गर्दा महिलालाई प्राथमिकता दिन थालेका छन्।

संरचनात्मक र सांस्कृतिक भिन्नतालाई टेबुलमा ल्याएर प्रभावकारी समाधान निकाल्ने गुण महिला नेतृत्वमा अधिक भए पनि समाजमा विश्वासको कमी रहेको शोभाले बताइन। उनी भन्छिन्, ‘यो समस्याबाट अहिले सबै क्षेत्र मुक्त हुँदैछ।’

महिलाको धैर्य, समर्पण र कडा परिश्रमले नेतृत्वमा प्रभावकारी भूमिका खल्ने सक्ने शोभाको बुझाइ छ। उनका अनुसार अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र बैंकिङ क्षेत्रमा पनि महिला नेतृत्व फस्टाउन थालेको छ। ‘बैंक तथा वित्तीय संस्थामा ‘करिअर’ को आकर्षणसँगै महिला नेतृत्व अगाडि आइरहेका छन्। अवसर पाएका ठाउँमा उपलब्धि हासिल गरेर आफूलाई सक्षम प्रमाणित गरिरहेका छन्’, उनले भनिन्।

सामाजिक पूर्वाग्रहलाई जित्न भने जरुरी रहेको उनको बुझाइ छ। ‘राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशमा महिला सफल भइसकेका छन्। बैंकिङ क्षेत्रमा मात्रै होइन अब देशको कार्यकारीमा महिला नेतृत्व  पुगेको हेर्न मन छ’, उनले भनिन्।

प्रकाशित: २५ फागुन २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =