प्रधानमन्त्री दाहालको ‘उथलपुथल’

कुलचन्द्र वाग्ले २४ फागुन २०८० ११:५३
42
SHARES
प्रधानमन्त्री दाहालको ‘उथलपुथल’

धेरै भाष्य स्थापित भएको नेपाली राजनीतिमा ‘उथलपुथल भाष्य’ पनि थपएिको छ। थप यो भाष्य भाव र भाषामा सीमित छैन, व्यवहारमा नै स्थापित गरिएको छ। लात्ती हान्ने उथलपुथल भाष्यको नेपाली प्रणेता अरू कोही नभएर प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्।

सज्जनहरूलाई सुन्दै अप्ठ्यारो लागेको यस्तो भद्दा अभिव्यक्ति प्रधानमन्त्री दाहालले किन दिए? राजनीतिमा इमानको जलप भए पनि हुनुपर्ने मान्यता बोल्ने स्वयं उनका समर्थक, सहकर्मीले समेत आफ्ना सदावहार अध्यक्षको वाणीलाई दृढतापूर्वक सार्वजनिक प्रतिरक्षा गर्न सकेको सुनिएन। अरूले गरिने प्रश्नमा उनका समर्थक लटरपटर उत्तर दिएर अध्यक्षलाई नबिझाउने तर रिझाउने उपायले उम्किएको सुनिँदैछन्।

बाहिरका मान्छे त गठबन्धन फेर्दा दिएको उनको तर्कलाई भद्दा र लाजमर्दो भन्ने टिप्पणी सार्वजनिक गरिरहेछन्। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले किन यस्तो कुरा भने त? यो प्रश्नमा सम्भावित संकेत खोज्न यी पंक्तिमा संवाद गरौँ-

प्रधानमन्त्री दाहालले भित्री र बाहिरी चासोलाई प्रत्युत्तर दिएका हुन् कि?

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालको ‘सत्ताचिप्को’ उछलकुदले नेपाली राजनीतिको विकृत चाङमा उथलपुथल छलाङ पनि थपेका छन्। जुन कुरा उनी आफैँले सार्वजनिक रूपमै भनेका हुन्। उनले भनेको उथलपुथललाई अरूले सत्तालिप्साजन्य धोका, अविश्वसनीय र अप्रत्यासित ठहर गरेका छन्।

संघीय संसद्को दोस्रो निर्वाचनसँगै तेस्रो दलको माओवादी नेता दाहालले प्रधानमन्त्री खाइरहन तोडेको चौथो गठबन्धन करामतलाई उथलपुथलको शब्दाडम्बरमा औचित्य साबित गर्न चाहेका हुन्। नेपाली कांग्रेससँगै अन्य दल सम्मिलित एक वर्ष लामो सत्ता सहयात्रा तोडेर पुनः नेकपा एमालेको ‘ढोक्सा’मा पुगेका दाहालले यसअघि ती दलसँग गरेको सहमतिलाई पनि अविश्वसनीय साबित गरिदिएका छन्। सहमतिलाई अविश्वसनीय करार गर्ने मान्छे कसरी विश्वसनीय हुनसक्छ र?

बालकोट पुगेर प्रधानमन्त्रीको पदावधि लम्ब्याएको विश्वाससहित सोमबार दाहालले आफ्नै कार्यकर्ताको भीडमा ‘आफू नमरुन्जेल उथलपुथल भइरहने’ अर्थात् आफूलाई यस्तो कर्म गरिरहने संज्ञात्मक बहादुरको अभिव्यक्ति दिए। साथै प्रतिक्रियावादीसँगै टाँसिएका उनले ‘प्रतिक्रियावादीलाई नै लात्ताले हान्ने’ अश्लील दम्भ पनि कार्यकर्तासामु सगर्व सुनाए।

भावावेशमा सम्हालिन कठिन प्रधानमन्त्री दाहालले आफ्नो ती दुई अवस्था (उथलपुथल र लात्ती…) बताएको भए पूर्वसहकर्मी वैद्यहरू (मोहन वैद्य) ले जानेभोगेको कुरा पर्‍यो। यो होइन र, आफ्ना माओवादी कार्यकर्तासमेत विप्लव माओवादीको कार्यकर्ताले पनि मच्चीमच्ची ताली पिटेको उक्साहटलाई जानेरै कुनै सन्देश दिएका हुन् भने कांग्रेस, एमाले र अरूका लागि समेत सान्त्वना, सावधानी सूचक र धम्की पनि हो। जनताले पनि लात्ती हान्ने उथलपुथलजन्य अस्थिर दुष्परिणाम भोग्ने नै छन्।

‘लात्ती हान्ने र उथलपुथल गर्दिने’ भद्दा कुरा पदीय दायित्वमा बसेको कसैले पनि भन्न नसुहाउने ठान्ने वा पदासीन प्रधानमन्त्रीबाट अश्लील अभिव्यक्ति आएको भन्नेहरूलाई जबाफ दिन दाहाल स्वयंले चाहिँ गतिशीलता, राष्ट्रिय दायित्व र जनताप्रति इमान भन्ने व्याख्या गरेका छन्। राजनीतिमा छर्लंग अवसरवाद, अस्थिरता, अराजकता र अविश्वसनीयतालाई यस्तो व्याख्या गरिन्छ भने त्यो राजनीतिको अपव्याख्या मात्रै हो।

दाहाल जिउँदो रहँदासम्म गरिरहने उथलपुथल गठजोडका साथी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धन भत्काइनसक्ने अग्रीम सूचना हो। सँगै प्रधानमन्त्री हुने सपना बुनेका नेपाली कांग्रेसका घायल सभापति शेरबहादुर देउवालाई सान्त्वना पनि हो। कतै लात्ती हान्ने उथलपुथल दायाँ हुने हो कि? उनले जतिबेला जसलाई लात्ताले हान्छन् उनको परिभाषामा लात्ती खाने त्योचाहिँ प्रतिक्रियावादी हो। लात्ती हान्ने संस्कारचाहिँ गतिशील रे।

अघिल्लो गठजोड तोडफोडको औचित्य देखाउन प्रधानमन्त्री दाहालले जेजस्ता भद्दा तर्क दिए पनि मुख्य कारणमा चाहिँ दुई भाग छन् भन्ने देखिन्छ। पहिलो, यस्तै पाराले सरकारमा बसिरहने र प्रणालीलाई बदनाम गर्ने दूरभिसन्धि। दोस्रो, तेस्रोपटक प्रधानमन्त्री हुँदा पनि देश, जनता र दुनियाँलाई सकारात्मक सन्देश वा परिणाम दिन नसकेको असफलता छोप्ने र सार्वजनिक ध्यान अन्यत्र मोड्ने उछलकुद।

अरूलाई वा मन्त्रीहरूलाई दोष थोपरेर प्रधानमन्त्रीले आत्मश्लाघा बहादुरी बखान्नु बहानाबाजी मात्रै हो। भनिन्छ नि–खोलाको पुछारमा पानी खाँदैको मृगलाई मुहान तैंले नै धमिल्याइएको होस् भन्ने ब्वाँसोको उक्तिजस्तै कथ्य हो।

आन्तरिक कारण, सरकारमा बसिरहने र वार्षिक असफलता छोप्ने उथलपुथल कतै पछाडिबाट बाहिरी प्रतिक्रियावादीलाई लात्ती हानिएको संकेत हो भने उत्तरी छिमेकी चीनका प्रवक्ताको आशीर्वचनले अभिव्यक्त गरेको होला?

अन्त्यमा, प्रधानमन्त्री पुष्पकमल दाहालसँग एउटा नमिठो प्रश्न, के उनी रहँदासम्म नेपाली राजनीति, देश र जनताले यस्तै उथलपुथल सिर्जित अस्थिरता, अराजकता, अविश्वास र अविकास अर्थात् दुर्गतिको लात्तफ भोगिरहनुपर्ने हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =