आदरणीय व्यक्ति आमा

अभनी आचार्य १९ फागुन २०८० ११:२२
72
SHARES
आदरणीय व्यक्ति आमा प्रतिनिधिमूलक तस्बिर पिक्सेलबाट।

आमा भनेको संसारमा सबैभन्दा आदरणीय व्यक्ति हो। असल आमा भाग्यमानी व्यक्तिले मात्र पाउँछन् भन्ने मेरो बुझाइ छ। आमाको सम्मान र आमालाई माया जति गरे पनि कम हुन्छ। उहाँको मन संसारमा सबैभन्दा उदार र दयालु हुन्छ। त्यसैले आमाको प्रशंसा जति गरे पनि कमै हुन्छ। आमाले मलाई ठूलो ऋण बोकाउनुभएको छ।

मेरी आमा ३५ वर्षकी हुनुभयो। उहाँको जन्म नेपालको इलाम जिल्लामा भएको हो। उहाँ सानै उमेरदेखि लगनशील हुनुहुन्थ्यो रे। पढाइमा पनि धेरै मन लगाउनुहुन्थ्यो रे। त्यसपछि मेरी आमा उहाँको बुबा अर्थात् मेरो मावलका हजुरबुवासँगै काठमाडौँ आउनु भएछ । उहाँले काठमाडौँमै स्नातकोत्तर तहको अध्ययन गर्नुभएछ। उहाँको विवाह २०६२ सालमा मेरो बुबासँग भयो। विवाहपछि उहाँले अध्ययनलाई निरन्तरता दिँदै जागिर पनि थाल्नु भएछ। उहाँका सन्तानका रूपमा हामी दुई दिदीबहिनी छौँ।

आमाले हामीलाई धेरै माया गर्नुहुन्छ। उहाँ सधैँ कार्यालय जानुपर्छ। उहाँले समय निकालेर हाम्रो खानपिनमा धेरै ध्यान दिनुहुन्छ। पढाइमा पनि हामीले नजानेका कुरामा हामीलाई सधैँ सहयोग गर्नुहुन्छ। उहाँको कार्यालय बिदा भएको दिनमा हामीलाई समय मिलाएर विभिन्न ठाउँमा घुमाउन लैजानुहुन्छ।

आमाको महत्त्व यस संसारमा धरै ठूलो छ। आमाले हामीलाई जन्म नदिएको भए आज हामी यो संसार देख्न तथा अनुभव गर्न पाउने थिएनौँ होला। हामीलाई सबैभन्दा खुसी आमाले नै दिनुहुन्छ। त्यसैले हामीले पनि आमालाई आदर गरी आफूले सकेको सहयोग गरी सेवा गर्नुपर्छ। त्यसमै हाम्रो कल्याण हुनेछ। हामी सबैले यो बुझ्न जरुरी छ कि आमा भनेको संसारमा सबै भन्दा आदरणीय व्यक्ति हो।

कक्षा : ४

मिल्सबेरी बिद्यालय, बाँसबारी, काठमाडौँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =