काठमाडौँ- स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कोभिड महामारीको समयमा कोशी प्रदेशमा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार भएको पाइएको भन्दै मुद्दा दायर भएको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताए।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।





