गुरुकुलका वटुक खुसी देख्दा थप ऊर्जा मिल्छ : रामचन्द्र तिमल्सिना [अन्तर्वार्ता]

हिमाल प्रेस १७ फागुन २०८० १८:१९
828
SHARES
गुरुकुलका वटुक खुसी देख्दा थप ऊर्जा मिल्छ : रामचन्द्र तिमल्सिना [अन्तर्वार्ता]

काभ्रेको भुम्लु गाउँपालिका-६ सुनकोशी किनारमा एउटा वैदिक गुरुकुल सञ्चालनमा छ। वैदिक अनुसन्धान समिति नेपालले सञ्चालन गरेको कौशिक गुरुकुलका संस्थापक र सञ्चालक हुन् रामचन्द्र तिमल्सिना। उनी कहिले गुरुकुलको सञ्चालकका रूपमा गाउँपालिकाको कार्यक्रममा सामेल हुन्छन् त कहिले बटुकहरूलाई वैदिक मन्त्र सिकाउँदै हुन्छन् अनि कहिले बुटकहरूसँग गाईगोठालोमा रमाउँदै गरेका भेटिन्छन्। निःशुल्क आवासीय सुविधासहितको गुरुकुल सञ्चालनका लागि आर्थिक पक्ष जुटाउने महत्त्वपूर्ण जिम्मेवारी पनि उनको छँदैछ। समितिका अध्यक्षसमेत रहेका कौशिकी गुरुकुलका प्रधानाचार्य तिमल्सिनासँग माधवप्रसाद नेपालले गरेको कुराकानीको सम्पादित अंश :

निजी क्षेत्रमा शिक्षाको व्यापार भइरहेको छ। तपाईँचाहिँ व्यक्तिगत प्रयासमा आवासीय सुविधासहित निःशुल्क रूपमा गुरुकुल सञ्चालन गरिरहनुभएको छ। मानिसले तपाईँलाई किन उल्टो दिशामा हिँडेको भन्दैनन्?

त्यस्तो त अवश्य भन्छन्। हाम्रो विद्या र शिक्षण सिकाइ पद्धति पूर्वीय दर्शन अनुकूल छैन। वेदले हामीलाई अघि बढ्न बाटो देखाएको छ। कर्ममा अभिप्रेरित गरेको छ। तसर्थ वैदिक वाङ्मयका विधालाई हामीले समाजोपयोगी बनाउनुपर्छ। यस्ता कुरा व्यवहारमा उतार्न गुरुकुल आवश्यक भएको हो।

अर्को कुरा, विद्याको बिक्री हुनु हुँदैन। बिक्री हुनेबित्तिकै लाभहानिको कुरा हुन्छ। व्यापारीले थोरै दिएर धेरै लिने चाहना गर्छ। विद्या किनबेचको विषय हुँदै होइन। गुरुकुल पद्धतिमा गुरुपरम्पराबाट ज्ञान हस्तान्तरण हुन्छ। यसलाई हामीले उजागर गर्नुपर्छ। हाम्रो परम्परा छ, विद्यार्थीको क्षमतालाई आकलन गर्ने। उसले कति सक्छ? उसमा गुरुप्रति विनयीपन र विद्याप्रति लगाव कति छ? त्यो विचार गरेर गुरुले सिकाउने हो। त्यसमा कुनै रोकावट आउनु हुँदैन। पूर्वीय दर्शनअनुसार समाज अगाडि जाओस् भन्ने परिकल्पना हो। त्यस कारणले मैले गुरुकुल स्थापना गरेको हुँ।

काभ्रेको एउटा दुर्गम ठाउँमा गएर गुरुकुल स्थापना गर्दा सुरुमा स्थानीय दृष्टिकोण कस्तो पाउनुभयो?

पहिला त गुरुकुल सञ्चालनका लागि अनुमति लिन कठिन भयो। धेरैलाई संस्कृत किन पढ्ने भनेर बुझाउन समय लाग्यो। संस्कृत शिक्षाको उपादेयताबारे बताउनुपर्‍यो। मैले यसरी एकल व्यक्तिले शुभारम्भ गरेको छु, तपाईँहरूको साथ चाहिन्छ भनेर सम्झाउँदै गएपछि पहिला नकार्ने व्यक्ति पनि पछि प्रभावित हुन थाले। एउटा व्यक्तिले ठिक गरेको रहेछ भनेर हैंसेमा होस्टे गर्न तयार भए। मेरो योजनालाई सहज रूपमा लिए। अहिले कार्यक्रममा बोलाउँदा आउँछन्। विद्यार्थीका क्रियाकलापको प्रशंसा गर्न थालेका छन्। बैठकमा जाँदा पनि राम्रो व्यवहार गरेको पाउँछु।

कहिले मोटरसाइकलमा व्यापारीले झैँ टन्न सामान बोकेर गुरुकुल पुग्नुहुन्छ। कहिले गाई चराउँदै गरेको देखिन्छ। यस्तो जीवनशैली जिउने प्रेरणा कसरी प्राप्त गर्नुभयो?

मलाई गीताको एउटा श्लोकले प्रेरणा दिएको छ। त्यो हो : अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते। तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्‌। अर्थात् गीतामा कृष्णले जसले मलाई अनन्य चिन्तन गर्छ, त्यसको योगक्षेम म वहन गर्छु भन्ने आज्ञा गर्नुभएको छ।

यो कुरा अहिलेका सबैले नमान्लान्। मान्नुपर्छ भन्ने पनि छैन। मेरो मूल सूत्रचाहिँ यही नै हो- राम्रो काम गर्नुपर्छ, आसक्तिपूर्वक होइन, बिनासक्त भएर। त्यसैले मैले भन्ने गरेको छु- गुरुकुल मेरो संकल्प होइन। अरूले देख्दा म प्रमुख पात्र छु। समाजले त्यसरी देख्नु स्वाभाविकै हो।

मेरो अन्तरमनमा बस्ने र अरूकोे अन्तरमनमा बस्ने तत्त्व त एउटै छ नि। मैले आत्मस्वरूपमा बसेको जुन भगवान् छ त्यसकै आज्ञाअनुसार काम गरिरहेको छु। त्यसमा मलाई अभिमान छैन। मैले त्यो भूमिमा टेकेको आज १० वर्ष भयो। गुरुकुलमा २०७५ सालको अक्षय तृतीयादेखि विद्यार्थी राख्न थालेको हुँ। अहिलेसम्म मलाई अभाव भएको छैन। देख्दाखेरि मेरो केही पनि छैन। केही नहुँदै गर्दाखेरि गुरुकुलमा खानेकुरा रोकिएको छैन। कर्मचारी-शिक्षकलाई तलब दिइरहेकै छु। गाईहरूलाई पनि घाँसपराल रोकिएको छैन।

तपाईँको खटाइ र लगाव देख्दा कतिपयले सामाजिक सञ्जालमा यो मानिसले किन यसो गरेको होला भनेर आलोचना गरेको पनि देखिन्छ। तपाईँलाई चाहिँ यसरी काम गर्दा कस्तो अनुभूति हुन्छ?

म कहिले चामल बोकेर, कहिले सिलिन्डर हालेर र कहिले मोटरसाइकलको दुवैतिर सब्जीहरू झुन्ड्याएर गुरुकुलमा पुग्छु। त्यसबाट प्राप्त हुने आनन्दको अनुभूति प्राप्त गर्नका लागि आफैँले काम गरेर हेर्नुपर्ने हुन्छ। त्यति बेला मलाई घरमा छोराछोरीले बाबुसित चाहेका चिजहरू दिँदाखेरिको आनन्दभन्दा कैयौँ गुना बढी आनन्द प्राप्त हुन्छ। मेरो मोटरसाइकलको हर्न सुनेर विद्यार्थी गुरु आयो भनेर आउँदाखेरि उनीहरूको अनुहारमा देखिने चमकले प्राप्त हुने आनन्दलाई म शब्दमा पनि वर्णन गर्न सक्दिनँ। झोला खोल्दाखेरि उनीहरूमा देखिएको खुसीले मलाई थप काम गर्न प्रेरणा मिल्छ। त्यस्तो आनन्द सायद कसैले पनि पाउन सक्दैन।

गुरुकुलको आर्थिक पक्षको व्यवस्थापन कसरी गर्नुभएको छ? स्थानीय सरकारले पूर्वाधार निर्माण र शिक्षक व्यवस्थापनमा केही सहयोग गरेको छ कि?

पूर्वाधार आफ्ना हितैषीहरूसँग सहयोग मागेर तयार पारेको हुँ। यज्ञहरूको आयोजना गरेर रकम संकलन गरेर थालनी गरेँ। पहिला त्यो ठाउँ मरुभूमिजस्तै थियो। कुनै एउटा वृक्ष पनि थिएन। हहिले हराभरा बनेको छ। साथीभाइ र शुभचिन्तकले दानस्वरुप दिँदै जाँदा ११ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्‍यौँ। त्यसको ब्याज कति नै आउँछ र?

नदीको किनारमा मैले पाञ्चायन पुराणको पाठ, भागवत अनि ११ दिनसम्म स्वाहाकार रुद्री आफैँले गरेँ। यज्ञमा लागेको खर्च छुट्याउँदा ६० हजार रुपैयाँ बाँकी थियो। त्यसमा केही रकम आफैँले थपेर भवन बनायौँ। विद्यार्थी राख्न थाल्यौँ। पर्यटन बोर्डबाट पाँच लाख पायौँ। त्यसमा थप रकम जुटाएर २०/२२ लाखमा अर्को भवन बनायौँँ।

अहिले सामान्य आवश्यकता पूर्ति भइरहेको छ। गाउँपालिकाको निजी स्रोतमा एउटा निमावि दरबन्दी पाएका छौँ। गाउँपालिकाले गत वर्षदेखि पाठ्यपुस्तकका लागि रकम पाउन थालेको छ विद्यार्थी गनेर। खाजाको पैसा पनि अन्य स्कुलसरह पाउन थालेको छ गुरुकुलले।

परम्परागत विद्यालयलाई संरक्षण गर्ने नेपाल सरकारको नीतिबमोजिम पाँच लाख रुपैयाँ पाइँदो रहेछ। दुई वर्षदेखि त्यो रकम पाउन थालेपछि अलिक सहज भएको छ।
मेरो मूल लक्ष्य र संकल्प के हो भने सम्भव हुन्जेल चलाउँदै जान्छु, भएन भने ल भगवान् मैले हजुरको काम थालेको हुँ, मबाट सम्भव हुँदैन मलाई योग्य देख्नुभएन भनेर छाडिदिन्छु। मलाई त्यसरी हात झिक्दा कुनै पीडा हुनेछैन। काम गर्दा गर्व पनि महसुस भएको छैन। आफ्नो काम गर्नुपर्छ भन्नेमा म दृढ छु। पूर्वीय दर्शनबाट प्रेरित भएका कारण मैले समाजका लागि केही गर्नु छ। कर्मका आआफ्ना परिभाषा छन्। वेदको कर्म गर्नु भनेको शुभकर्म हो। त्यही प्रेरणाले म अगाडि बढेको हुँ। तर म निमित्त मात्रै हुँ।

दुर्गम गाउँमा संरचना बनाउने, बालकहरू बटुलेर राख्ने अनि सकिनँ भनेर छाड्नुभयो भने त त्यहाँका वटुकहरूको बिचल्ली हुँदैन र?

आवेशमा आएर छाड्छु भन्न खोजेको होइन। मेरो भनाइको तात्पर्य के हो भने अनुकूल वातावरण बनेन, मलाई अवरोध भयो, आर्थिक समस्या पर्‍यो अगाडि बढाउन सकिएन भने मात्रै उनीहरूको व्यवस्थापन गरेर छाड्न सकिन्छ। त्यसरी छाड्नुपर्दा मलाई पीडा हुँदैन भन्न खोजेको हुँ। मैले उसकै काम गरेको हुँ भन्ने अर्थमा यसो भनेको हुँ। जिम्मेवारी लिएका बटुकहरूलाई म त्यस्तो गर्ने छैन नि।

गुरुकुलमा विद्यार्थी र शिक्षक कति छन् अहिले?

अहिले १५ जना छन्। बिस्तारै संख्या बढाउँदै जाने योजना छ। मैले एउटा गुणस्तरीयता खोजेको छु। मलाई धेरै बटुक नचाहिन पनि सक्छन्। जसले अध्ययन गरेको छ ऊ सदाचारी बनोस्, वेदले बताएअनुसार समाजलाई केही दिन सकोस् भन्ने चाहना हो मेरो। एकैजना पनि किन नहोस् गुणस्तरीय भयो भने पर्याप्त हुन्छ। म त्यसकै खोजीमा छु।

शिक्षकहरू दुईजना हुनुहुन्छ। एकजनाले संस्कृत र एकजनाले अंग्रेजी गणित पढाउनुहुन्छ। बेलाबेलामा म पनि पढाउँछु। भान्छामा काम गर्ने एकजना हुनुहुन्छ। गाईको सेवा गर्ने एकजना हुनुहुन्छ। गौशालामा अहिले तीनवटा दुहुना गाई छन्। करेसाबारी छ। हामी प्रायः सामूहिक रूपमा काम गर्छौँ।

गुरुकुलमा पढेका छात्रहरू कत्तिको व्यावहारिक हुन्छन्?

मेरो लक्ष्य के हो भने गुरुकुलमा पढेको विद्यार्थीले सबैथोक जानेको हुनुपर्छ। उसले विद्यामात्रै जानेर हुँदैन। व्यावहारिक शिक्षा नभएर हाम्रो देश पछाडि परेको छ। हाम्रा युवापुस्ता विदेश जान बाध्य हुनुको कारण पनि यही हो। हामीकहाँ व्यावहारिक शिक्षा भएन। १२ कक्षा पढेको व्यक्तिले यति काम गर्छ भनेर सामर्थ्यशाली बनाउन सकेर रोजगारको व्यवस्था सरकारले गरिदिने हो भने किन विदेश जानु? पर्दैन नि! गुरुकुलको विद्यार्थीलाई उसको क्षमता हेरेर मात्रै काममा लगाउँछौँ। विद्यार्थीले उमेर र क्षमताअनुसार के सक्छ र कुन काम खुसीपूर्वक गर्न सक्छ भन्नेमा हामी सजग छौँ।

नयाँ आउनेहरूले एक वर्षसम्म्म दाइहरूले कसरी काम गर्दारहेछन् भन्ने हेर्छन्। आफ्नो कर्तव्य सबै बुझ्छन्। अनि ऊ एउटा झारमात्रै टिप्ने सामर्थ्यको हो कि? एउटा सानो ढुंगा मात्रै उठाउने सामर्थ्यको हो कि? सानो भाँडामा पानी ल्याउन सक्ने मात्रै हो कि? सामर्थ्यअनुसारको काम खुसीसाथ गर्छ। करेसाबारीको काम हामी आफैँ गर्छौँ। म छात्रहरूलाई गाई दुहुन सिकाउँछु। बाहिर स्कुलमा पढेको विद्यार्थी गाईको छेउमा जान सक्दैन होला। दूध गाडीले दिन्छ भन्ने अवस्था आइसक्यो। सहरका बालबालिकालाई कहाँबाट दिन्छ भने थाहा छैन। गाई र वेदबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। गुरु र चेला सँगसँगै बस्दा समानता पनि भइहाल्यो। अहिलेको भाषामा भन्नुपर्दा हामी वैदिक साम्यवादको परीक्षण गर्दैछौँ।

कौशिक गुरुकुलमा पढेका, सहरका अन्य गुरुकुलमा पढेका र अन्य विद्यालयमा पढेका विद्यार्थीबीच के कस्तो भिन्नता पाउनुहुन्छ त?

कौशिक गुरुकुलमा कक्षा आठसम्म पढाइ हुन्छ। त्यसपछि विद्याथीहरू अन्यत्र जान पाउँछन्। प्रायःजसो वेदविद्याश्रममा भर्ना भएका छन्। उनीहरूको पढाइ राम्रो छ। आवासीय रूपमा बसेका छात्रहरूलाई कहिले निस्कुँला र बाहिरी संसारमा रमाउँला भन्ने हुन्छ। मैले गुरुकुलबाट बाहिरिने बेलामा के दीक्षित गर्छु भने दैनिक सन्ध्यावन्दन र शिखासूत्रचाहिँ त्याग्नु हुँदैन है। यसो भन्नुको तात्पर्य उनीहरू वेदको अनुयायी बनिरहून् भनेर हो। वेदको अनुयायीले सन्ध्या र शिखासूत्र त्याग्यो भने पतीत हुन्छ। मैले उसका लागि ज्ञानको बीजारोपण गर्नेमात्रै हो। सबै जिम्मा लिन त सक्दिनँ। सही विद्याको बीज फल्ने, फुल्ने र विस्तार हुने काम त भइहाल्छ।

गुरुकुलमा पढेपछि भविष्यमा कर्मकाण्डमा मात्रै सीमित हुन्छ। कतिपयलाई त संस्कृत पढ्ने भनेकै कर्मकाण्डका लागि मात्रै भन्ने छ। तपाईँले गुरुकुलमार्फत वेद अध्ययनको बीजारोपण गर्दै गर्दा त्यस्ता मानिसलाई कसरी बुझाउनुहुन्छ?

गुरुकुलमा बस्ने विद्यार्थीलाई समय प्रशस्त हुन्छ। त्यहाँ उनीहरूको नियमित कक्षा हुन्छ। त्यसो भन्दैमा साना विद्यार्थीलाई धेरै कुरा सिकाउन पनि सकिँदैन। उनीहरूलाई गीताले बताउन खोजेको के छ? भन्ने कुरा सिकाउँछौँ। वैदिक उपासना पद्धति कस्तो छ? शक्तिको उपासना किन गर्ने? इष्टदेवलाई कसरी उपासना गर्ने? हामीलाई शक्तिको खाँचो किन छ? दीक्षित किन हुने? नवदुर्गाको साधना कसरी गर्ने? चण्डीपाठ कसरी गर्ने? चण्डीको गुह्य कुरा धेरैलाई थाहा छैन। ती काममा उनीहरूलाई दक्ष बनाएर बाटो देखाइदिने गर्दछौँ।

हामी उनीहरूलाई साधना र सामाजिक कर्तव्यको बीजारोपण गरिदिन्छौँ। मनुष्य भएर हामीले के कर्म गर्नुपर्छ? हामी लोभलालसामा फस्ने कि नफस्ने? कतिसम्म भौतिक सम्पत्ति उपार्जन गर्ने? यस्ता कुरा सिकाउँछौँ हामी। पूर्वीय दर्शनले हामीलाई निर्देशित गरेका कुराहरू अनौपचारिक, औपचारिक रूपमा सिकाउँछौँ। काम गराउँदै घोकाउने पनि गर्छौँ। खेल्दाखेल्दै घोकाउने पनि गरेका छौँ। कर्मकाण्ड एउटा पक्ष हो। गुरुकुलमा जति व्यावहारिक शिक्षा अन्यत्र सिकाइँदैन।

समितिले अरू थप केही गर्दैछ कि?

हाम्रा गुरुकुल सर्वतोमुखी हुनुपर्छ। म शुभारम्भमा छु। बिस्तारै त्यो अवस्थामा पुगिएला। पूर्वीय दर्शनका हरेक पक्षलाई हामीले गुरुकुलका माध्यमबाट समाजलाई दिनुपर्छ। गुरुकुलका विद्यार्थी सबैले हरेक कुरा लिन सक्दैनन्। चाहिने जति चिज भने लिन सक्नुपर्छ। व्यक्ति केमा उत्सुक छ, त्यही विषयमा उसलाई बढी ज्ञान दिलाउनुपर्छ। यसबारे अन्य गुरुकुलका गुरुहरूले विचार पुर्‍याउनुपर्छ। सबलाई एउटै कुरा लाद्नु हुँदैन।

समिति गोवंशको संरक्षक हो। सानै रूपमा भए पनि केही गरौँ भन्ने छ। त्यसकारण गौशाला बनाइएको हो। गुरुकुल हुनका लागि गौशाला र यज्ञशाला हुनैपर्छ। वेदप्रदत्त विषय समाजमा लागू गर्दै जाने योजना समितिको छ। वेदले बताएको अनुष्ठानबाट समाजले लाभ लिन सक्नुपर्छ। समाजमा आत्मिक सन्तुष्टि र आध्यात्मिक शान्ति दिलाउन समिति लागिपर्नेछ। यसका लागि सर्वप्रथम वेद-विद्याको बीजारोपण गुरुकुलबाट भएको छ। आफैँले विद्यार्थी उत्पादन गरेपछि यज्ञ गर्न कठिन हुँदैन। यज्ञ गर्न सोहीअनुसारका ऋत्विक आवश्यक हुन्छन्। समाजलाई सुसूचित बनाउने योजना समितिको छ। त्यहीअनुसार हामी अगाडि बढेका छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =