‘सार्कलाई सक्रिय बनाए दक्षिण एसिया विश्वकै शान्ति क्षेत्र बन्छ’

हिमाल प्रेस १६ फागुन २०८० २१:४५
20
SHARES
‘सार्कलाई सक्रिय बनाए दक्षिण एसिया विश्वकै शान्ति क्षेत्र बन्छ’

काठमाडौँ- दक्षिण एसियाली मुलुकहरूको सुरक्षा र विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव इस्लामावादमा जम्मा भएका विज्ञहरूको छ। विकासमा प्रतिस्पर्धा गर्ने र आफ्ना नागरिकको हितलाई ध्यानमा दिएर यस क्षेत्रका मुलुकहरूबीच सहकार्य अपरिहार्य देखिन्छ। नचाहेर पनि सहकार्य गर्न पर्ने अवस्था रहेको इस्लामावादमा उपस्थित भएका विभिन्न क्षेत्रका विज्ञहरूले बताएका हुन्।

उनीहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाएर त्यहाँ भएका प्रतिबद्धता सबै मुलुकले अनुशासित भएर पालना गरेमा यस क्षेत्र विश्वकै शान्ति क्षेत्रको रूपमा रहने पनि उल्लेख गरेका थिए। सार्कको राजधानी काठमाडौँ हो भने नेपाल यतिबेला सार्कको अध्यक्ष समेत रहेकाले नेपालको वर्तमान सरकारले पनि सार्क प्रक्रियालाई अघि बढाउन थप पहल गर्नपर्ने सुझाव विज्ञहरूको छ।

सार्क स्थापनादेखि नै भारत र पाकिस्तानको सम्बन्ध राम्रो थिएन। यद्यपि भारत–पाकिस्तान दुवै सार्कमा सदस्य छन् भने उनीहरूको आन्तरिक सम्बन्धको कारणले सार्क नै अवरुद्ध हुन नहुने पनि विज्ञहरूको सुझाव छ। सार्कको विकल्प सार्क नै हो भन्दै उनीहरूले त्यसभित्र भएका र जनाइएका प्रतिबद्धताहरू कार्यान्वयन गर्नमात्र सके पनि सार्कको भविष्य उज्ज्वल रहेको उनीहरूले बताए।

सदस्य मुलुकहरूले एक अर्कालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने र सुरक्षा भनेको बोर्डरमात्र हो भन्ने सोचबाट मुक्त हुनुपर्नेमा पनि उनीहरूको जोड थियो। प्रविधिले गर्दा व्यक्तिले पाउने जागिरसमेत धरापमा परेको विषयदेखि यस क्षेत्रको अपार सम्भावनाका विषयमा समेत लामो बहस भइरहेको छ।

आइतबारदेखि चलेको कार्यक्रम यो साताभर चल्ने छ। भर्खरै निर्वाचन सम्पन्न गरेर नयाँ सरकार बनाउने तयारीमा रहेको पाकिस्तानमा यतिबेला कामचलाउ सरकार छ। तर पनि सक्रिय रूपमा यो प्रकारको डाइलग पनि इस्लामावादमा चलिरहेको छ। विभिन्न तीन दर्जन मुलुकका एक सय भन्दा बढी विज्ञहरू सहभागी गराएर बहस गराउने कार्य आफैँमा चुनौतीपूर्ण छ। तर पनि राम्रो व्यवस्थापन र छलफल साथै राजनीतिक भेटघाट समेत गराएर कार्यक्रम लगतार अघि बढिरहेको छ।

पाकिस्तान आफैँमा राजनीतिक खिचातानीमा परिरहेको मुलुक भए पनि यहाँको सेना र ब्युरोक्रेसी बलियोे छ। जसले गर्दा पाकिस्तानमा नियमित कामहरू भने भइरहेका हुन्छन्। सरकार परिवर्तनपछि सबै प्रक्रियाहरूमा नै असर गर्ने प्रचलन पाकिस्तानमा नभएको पटकपटक यस्ता कार्यक्रममा भाग लिइसकेकाको अनुभव छ।

पाकिस्तानमा भएको यो बहसमा जलवायु परिवर्तनको असर, विश्वमा चलिरहेको युद्धको असर, अफगानिस्तान र पाकिस्तान सम्बन्ध, सार्क सदस्य मुलुकसँग पाकिस्तान, महिला अधिकार, मानवअधिकार, शिक्षा, प्रविधिको विकास र चुनौती, आर्टिफिसियल इन्टेलिजेन्स, सीमा जोडिएको मुलुकसँग राखिने सम्बन्ध र मुलुकको जिम्मेवारी लगायतको विषयमा बहस र छलफल भइरहेका छन्।

यस क्षेत्रको आर्थिक विकासमा देखिएको चुनौती र सहकार्यमा भएका अबरुद्धता लगायतको विषय पनि यहाँ परेका छन्। मिथ्या सूचनाको शिकारमा यस क्षेत्र पनि परेको विषयमा पनि बहस र छलफल भइरहेको छ।

विश्वमा चलिरहेको द्वन्द्व र सञ्चारमाध्यमको स्रोतकाका विषयमा पनि छलफल भइरहेका छन् । किनकि उदाहरणको रूपमा पाकिस्तान जाने समयमा किन जाने, खतरा छ, कपडा लगाउने विषयमा पनि बहस हुन्छ भन्ने जस्ता कुरा सुनेर गएकाहरू त्यहाँ पुगेपछि फेक न्यूजको प्रभाव स्पष्ट भएको थियो।

जानाजान यस्ता भ्रमहरू फैलाउने काम भएका हुन्छन्। यस्ता विषयलाई चिरेर सहकार्य गर्दै अघि बढ्नु पर्ने विज्ञहरू बताउँछन्।

सबै विषयमा बहस हुँदा त्यो विषय सार्कको प्रतिबद्धतामा परिसकेको भन्ने हुनाले पनि सार्कलाई माध्यम बनाएर सहकार्य अघि बढाउन यस क्षेत्रका नेतृत्व लाग्नु पर्ने सुझाव विज्ञहरूले दिइरहेका छन्। केही विज्ञहरूले सार्क भनेर मात्र नहुने यसलाई सक्रिय बनाउन नसकेपछि अर्को पाटोमा सोच्नुपर्ने पनि बताए।

यसरी पाकिस्तानको राजधानी इस्लामावादमा विश्वमा विभिन्न मुलकका क्षेत्रगत विज्ञहरू भेला भएर यस क्षेत्रको आम चासो, सुरक्षा र विकासमा बहस गरेका छन्। फेब्रुअरी २६ देखि २२ मार्चसम्म चल्ने उक्त बहस पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीले जुराएको हो। इन्स्टिच्युट फर स्ट्राटेजिक, रिसर्च र एनालाइसिस (ईस्स्रा)ले जुराएको हो।

सुरक्षा भन्ने बित्तिकै परम्परागत रूपमा रहेको सीमा सुरक्षा मात्र होइन। मानिसले पाउने सबै प्रकारको अधिकार, खाद्य सुरक्षा, पर्यावरण सुरक्षा, हवाई रुटदेखि अनेकन विषयहरू यसमा छ।

भारत र पाकिस्तानको सम्बन्ध र सीधा हवाई रुटको अभावको कारण नेपालबाट सहभागी हुन पाकिस्तान जानेहरू आबुधावी, दोहा, मस्कट वा थाइल्याण्ड भएर जान परिरहेको अवस्था छ। यसमा पनि तत्काल ध्यान जानुपर्ने भन्दै छलफल भएको हो। छलफल जारी छ।

प्रकाशित: १६ फागुन २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =