सार्क महासचिव र परराष्ट्रमन्त्रीबीच भेट, सार्कलाई गति दिनुपर्नेमा जोड

हिमाल प्रेस २३ कार्तिक २०८० १८:५७
8
SHARES
सार्क महासचिव र परराष्ट्रमन्त्रीबीच भेट, सार्कलाई गति दिनुपर्नेमा जोड

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवार र परराष्ट्रमन्त्री एनपी साउदबीच भेट भएको छ। सार्क मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका मन्त्री साउदले सरवारलाई महासचिवमा नियुक्ति भएकोमा बधाई दिँदै उनको कार्यकालको शुभकामना दिए।

बंगलादेशी नागरिक सरवारसँग मन्त्री साउदले सफल कूटनीतिज्ञका रूपमा महासचिवको ज्ञान र अनुभवलाई ध्यानमा राख्दै सार्कले थप प्रगति गर्ने विश्वास रहेको बताए। परराष्ट्रमन्त्री साउदले सार्क बडापत्रमा उल्लिखित उद्देश्यहरू प्राप्त गर्न सार्कलाई थप गति दिन आवश्यक रहेकोमा जोड दिए।

भेटमा महासचिव सरवारले पश्चिम नेपालमा हालै गएको भूकम्पले धेरैको ज्यान गएको र ठूलो धनजनको क्षति भएकोप्रति नेपाल सरकार र जनताप्रति समवेदना प्रकट गरे। साथै सरवारले सार्कको पन्ध्रौँ महासचिवमा आफ्नो मनोनयनलाई अनुमोदन गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे।

उनले स्थापनाकालदेखि नै सार्कलाई बलियो बनाउन नेपालले खेलेको रचनात्मक भूमिकाको प्रशंसा गरे। महासचिव सरवारले सार्कको अध्यक्षको हैसियतले सार्कका गतिविधि अगाडि बढाउन नेपालले प्रयास गर्नुपर्ने पनि बताए।

सार्क क्षेत्रका जनताको साझा हितका लागि सार्क प्रक्रियालाई पुनर्जीवित गर्न नेपाल सरकारबाट निरन्तर सहयोग र मार्गदर्शन प्राप्त गर्ने अपेक्षा रहेको महासचिव सररवारको भनाइ थियो।

प्रकाशित: २३ कार्तिक २०८० १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =