अकल्पनीय मृत्युको शृंखला

क्रमैसँग ढल्यो खड्गबहादुरको सहारा

विवेक विवश रेग्मी १६ फागुन २०८० १७:४९
976
SHARES
क्रमैसँग ढल्यो खड्गबहादुरको सहारा खड्गबहादुर राईको घरमा भेला भएका छिमेकी र आफन्त। तस्बिर : विवेक विवश रेग्मी

इटहरी– बुधबार दिउँसो उदासलाग्दो हावा चलिरहेको छ। घाम न न्यानो छ, न रापलाग्दो। इटहरी उपमहानगरपालिका-५ काव्यवााटिका नजिकै खड्गबहादुर राईको परिवार शोकमा डुबेको छ। भेला भएका छरछिमेकी र आफन्तजन भावविह्वल छन्। उनीहरू एकापसमा कानेखुसी जसरी भन्दै थिए- यस्तो घटना कसैले भोग्नु नपरोस्।

घटना हो चार दिनअघिको। ट्रकको ठक्करबाट इटहरी-५ का ३० वर्षीय केदार भनिने रोबिङ राईको निधन भयो। ना ६ ख ६५७५ नम्बरको मालवाहक ट्रकले प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक रहेका उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु भएको चार दिनपछि बुधबार उनको अन्त्येष्टि गरिएको छ।

रोबिङको परिवारमा अनौठो तर दुःखद् संयोग परेको छ। उनी त दुर्घटनामा बिते। उनका बाबु खड्गबहादुरका  दुई छोरा र दुई बुहारीको दुर्घटनामै ज्यान गुमेको छ। खड्गबहादुर राई र सरनी राईले पाँच वर्षअघि कान्छी बुहारीलाई गुमाए। पारिवारिक स्रोतका अनुसार कान्छी बुहारी जिन्ती चौधरीले घरको पूर्वपट्टिको कोठामा आत्महत्या गरेकी थिइन्। उक्त घटनाबाट परिवारमा बज्रपात पर्न सुरु भएको थियो।

जिन्तीका पति खड्गबहादुरका कान्छा छोरा घनश्याम राई वैदेशिक रोजगारीमा थिए। ‘वैदेशिक रोजगारीकै क्रममा रहँदा भिडियो कलमा बोलिरहँदा अचानक जिन्तीले आत्महत्या गरिछन्,’ एक छिमेकी भन्छन्, ‘कान्छी बुहारीले आत्महत्या गरेपछि यो परिवारले अरू तीनजनालाई सवारी दुर्घटनामै गुमायो। यो हामी सबैका लागि दर्दनाक छ।’

खड्गबहादुरको परिवारले कान्छा छोरालाई पनि सवारी दुर्घटनामै गुमायो। पत्नीको आत्महत्यापछि विरक्तिएर वैदेशिक रोजगारीबाट फर्किएका घनश्याम घरमै थिए। एक दिन इटहरी चोकबाट घर फर्कने क्रममा इटहरीस्थित पश्चिम लाइनमा रहेको ट्राफिक प्रहरी कार्यालय नजिकै मोटरसाइकल दुर्घटनामा उनको ज्यान गयो।

कान्छो छोरा र बुहारीलाई गुमाएको भुल्न नपाउँदै परिवारले फेरि माइली बुहारीलाई दुर्घटनामै गुमायो। माइली बुहारी अनु भण्डारीको केही वर्षअघि इटहरी पश्चिम लाइनस्थित कलंकीनजिकै दुर्घटनामा निधन भएको थियो। म्याजिक भ्यानको ठक्करबाट उनको निधन भएको हो। एक छोरा र दुई बुहारी गुमाएको यो परिवार बिस्तारै सम्हालिने प्रयास गर्दै थियो।

चार दिनअघिको घटना कानमा पर्नेबित्तिकै रोबिङकी आमा अचेतजस्तै बनिन्। खड्गबहादुर अशक्त छन्। प्यारालाइसिसका बिरामी उनलाई स्पष्टसँग बोल्न पनि कठिन हुन्छ। जेठा छोराको निधन भएपछि त उनी बेचैन छन्।

रोबिङको पनि इटहरी पश्चिम लाइनमा रहेको खाद्य गोदाम नकिजै दुर्घटनामा मृत्यु भयो। ‘कस्तो दुःखद् संयोग भने कान्छा छोरा, माइली बुहारी र जेठा छोराको एकै स्थानमा (नजिकैको दुरीमा) दुर्घटना भयो,’ छिमेकीहरू भन्दै थिए, ‘तीनैजनाको दुई सय मिटर फरकको अन्तरालमा दुर्घटनामा परी निधन हुन पुग्यो।’

भिन्नभिन्न मितिमा तीनजनाको दुई सय मिटर फरकमा दुर्घटना हुनु र निधन हुनुले स्थानीयवासी आश्चर्यमा छन्। साल र महिना फरक भए पनि तीनैजनाको मृत्यु क्रमशः ११, १२ र १३ गते भएको छिमेकीहरू बताउँछन्। ‘घनश्यामको ११ गते, अनुको १२ गते र रोबिङको १३ गते मृत्यु भयो। यो त क्रमैसँग मृत्यु आएजस्तो भयो,’ आँखाभरि आँसु पार्दै छिमेकीहरू भन्छन्।

विभिन्न वर्षहरूमा एकै घरमा भएका यी घटनाले परिवारमा मात्रै होइन छरिछिमेकी पनि विक्षिप्त छन्। मृतक रोबिङले केही समयअघि मात्रै विवाह गरेका हुन्। पत्नी अमेरिका गएकी छन्। रोबिङ पनि अमेरिका जाने तयारीमा थिए। उनी इटहरीमै होटल व्यवसायसमेत गर्दै आएका थिए। खड्गबहादुर र सरनीका माइला छोरा प्रकाश वैदेशिक रोजगारीबाट हालै फर्किएका छन्। अब प्रकाश मात्रै परिवारको एक्लो सहारा बनेका छन्।

दुई छोरा र दुई बुहारीलाई गुमाएपछि सम्हालिनै नसक्ने शोक परेको छ खड्गबहादुरलाई। स्थानीय अमित दाहाल बिर्सनै नसक्ने घटना भएको बताउँछन्। ‘बुबालाई केही वर्षअघि प्रेसरले हानेको थियो। अहिले प्यारालाइसिसका कारण राम्ररी बोल्न सक्नुहुन्न,’ दाहाल भन्छन्, ‘एउटै घरका चार-चार जनालाई बर्सेनिजसरी गुमाउनुपर्दा हामी पनि विक्षिप्त बनेका छौँ।’

प्रकाशित: १६ फागुन २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =