चुनावमा गठबन्धन गर्ने विषय तत्कालीन अवस्थामा निर्भर रहन्छ : देउवा

हिमाल प्रेस ७ फागुन २०८० १६:१२
14
SHARES
चुनावमा गठबन्धन गर्ने विषय तत्कालीन अवस्थामा निर्भर रहन्छ : देउवा फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय तत्कालीन अवस्थामा निर्भर हुने बताएका छन्। ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको बताए। देउवाले वर्तमान गठबन्धनलाई निरन्तरता दिनु कांग्रेसको राजनीतिक जिम्मेवारी हुने पनि जिकिर गरे।

महामन्त्री गगन थापा भने चुनावमा कुनै दलसँग गठनबन्धन नगरी एक्लै लड्नुपर्ने पक्षमा छन्। महामन्त्री थापाले महामसमिति बैठकमा पेस गर्ने दस्ताबेजमा पनि चुनावमा कुनै दलसँग पनि गठबन्धन गर्न नहुने विषय समेटिएको छ।

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौँ। गठबन्धन १० महिनाअघि सरकार गठन हुँदा मात्र बनेको हैन, प्रतिनिभिसभा विघटन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भएपछि यसको रक्षाका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको हो’, सभापति देउवाले भने, ‘वर्तमान सरकार त्यसैको निरन्तरता हो। महासमितिमा पेस भएको सबै दस्तावेजले गठबन्धनको विषयलाई समेटेएको छ। वर्तमान गठबन्धन सबैको अग्रसरतामा संविधानकको रक्षाको उद्देश्यले बनेको हो।’

सभापति देउवाले नेपाली कांंग्रेसको विधान समय सापेक्ष बनाउन संशोधन आवश्यकता भएको बताए। उनले संविधान गतिशील दस्तावेज भएको र यसमाथि जनताको स्वीकार्य र स्वामित्व आवश्यक भएको उल्लेख गरे। उनले जनताको आशाभरोसा स्थापित गर्न संविधान कार्यान्वयनमा देखिएको अस्पष्टता पहिचान गरेर स्पष्ट पार्दै अघि बढ्नुपर्ने धारणा राखे।

कांग्रेस जनताले आशाभरोसा गरेको पार्टी भएकाले जनताको विश्वासलाई खण्डित गर्न नहुने उनको भनाइ छ।  ‘अहिले पार्टी ठूलो बनेको छ। संगठन बलियो छ । जनताको आशा भरोसा कांग्रेसप्रति छ। कांग्रेसले त्यो विश्वासलाई खण्डित हुन दिनु हुँदैन’, उनले भने।

सभापति देउवाले पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व मात्र चयन गरेको समय अभावका कारण नीतिगत विषयमा दस्ताबेज राखेर छलफल गर्न नपाएकाले सोही उद्देश्यले महासमितिको बैठक बोलाइएको बताए। ‘बैठकमा विभिन्न प्रस्ताव पेस हुनेछन्। सबैले राम्ररी अध्ययन गरेर बचार राख्नुहुनेछ’, देउवाले भने।

प्रकाशित: ७ फागुन २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =