पुस्तकालय मासेर ७० लाख लागतमा झण्डापार्क

हिमाल प्रेस ७ फागुन २०८० १५:१३
18
SHARES
पुस्तकालय मासेर ७० लाख लागतमा झण्डापार्क

पोखरा- प्रजातन्त्र दिवस अवसरमा पोखरा महेन्द्रपुलमा झण्डापार्क उद्घाटन गरिएको छ। लायन्स क्लब इन्टरनेसनलका ५ वटा डिस्ट्रिक्टको कुल ७० लाख सहयोगमा निर्मित झण्डापार्कको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा सोमबार उद्घाटन गरेका हुन्।

उद्घाटनसँगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण गरियो। बुर्लाकोटीले प्रमुखआचार्यलाई पार्कको साँचो हस्तान्तरण गरेका छन्। संयुक्त राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका झण्डापार्कमा राखिएका छन्। बीचमा लायन्स इन्टरनेसनलको झण्डा पनि छ। ती झण्डा एकै पटक फहराउँदा पोखरेलीले नौलो अनुभूति गरेका छन्। कतिपयले यो नयाँ पर्यटकीय गन्तव्य बनेको अर्थ्याएका  छन्।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब एक वर्ष लगाएर उक्त पार्क निर्माण भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए।

समारोहमा प्रमुख आचार्यले झण्डापार्क पोखराका लागि नयाँ पर्यटकीय गन्तव्य बनेको दाबी गरे। उनले पोखराको समग्र विकासमा सहकार्य गर्न सबै संघसंस्थालाई आह्वान गरे। सरकार महानगर एक्लैको प्रयासले मात्र विकास सम्भव नभएको भन्दै उनले झण्डापार्क निर्माणमा लायन्स क्लब अन्तर्राष्ट्रियले सहयोगजस्तै यहाँको पर्यटकीय एवं पूर्वाधार विकासमा समेत हातेमालो गर्न आह्वान गरे। पोखरा घुम्न आउने विश्वका पर्यटकले अब आफ्नै देशको झण्डामुनि बसेर फोटो खिच्न सक्ने उनको भनाइ छ।

लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बुर्लाकोटीले पोखरा आफैँमा सुन्दर सहर रहेको र झण्डापार्कले अर्को सुन्दरता थपेको बताए। झण्डापार्क विश्वकै नयाँ प्रयोग भएको दाबी गरे। यहाँ झण्डापार्कसहित शौचालय, फल्चा, मड्का चिया पसल, पत्रपत्रिका एवं डिजिटल डिस्प्ले लगायतका संरचना हुनेछन्।

सेती नदी किनार महेन्द्रपुल बजारमा यसअघि रहेको पोखरा सार्वजनिक पुस्तकालय तथा पोखरा आर्ट ग्यालरीको भवन मासेर झण्डापार्क बनाइएको हो। उक्त कार्यको भने कतिपयले आलोचना गरेका छन्। पुस्तकालयका करिब १२ हजार पुस्तक नयाँबजारस्थित क्षत्री समाज भवनमा लगिएको छ।

महानगरले पृथ्वीचोकस्थित पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा कोसेली घर निर्माण गरी त्यहाँ पुस्तकालय सार्ने तयारी गरेको छ। गत वर्ष महानगर नगर कार्यापालिकाको आठौँ बैठकले पुस्तकालय तथा आर्ट ग्यालरीमा डोजर चलाएर पार्क बनाउने निर्णय गरेको थियो।

प्रकाशित: ७ फागुन २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =