सफल पोखरा म्याराथनमा केन्याका जुलियास च्याम्पियन

हिमाल प्रेस ५ फागुन २०८० ११:५१
28
SHARES
सफल पोखरा म्याराथनमा केन्याका जुलियास च्याम्पियन

पोखरा- १८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका जुलियास मुरौकी वाहोम विजेता भएका छन्।

साविक उपविजेता ३८ वर्षीय जुलियास यसपालि च्याम्पियन बन्दै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए। नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा उनीसहित केन्याकै धावक दोस्रो र तेस्रो हुन सफल भए।

विजेता जुलियासले निर्धारित दूरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् । गत उनले २ घण्टा २० मिनेट ३७ लगाएका थिए। केन्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गदैै दोस्रो भए।

त्यस्तै, एड्विन किप्लागट मिरितिमले थप ४० सेकेण्ड बढी लगाउँदै तेस्रोमा सीमित भए। नेपालको किरण बोगटी चौंथो भए। उनीहरूले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।

विभिन्न ९ इभेन्टमा भएको सफल म्याराथनको मुख्य इभेन्ट खुलातर्फ १ सय ८ जना धावकले भाग लिएका थिए। नेपालसहित १६ राष्ट्रका धावकले भाग लिएको प्रतियोगितामा महिलातर्फ २१ दशमलब ०९७ किमीको हाफ म्याराथन, पुरुष-महिला १० किमी, छात्र-छात्रा ५ किमी, महिला-पुरुष भेट्रान्स ५ किमी, रन फर फन भएको थियो । अपांगतातर्फको दौड भने गत साता सम्पन्न भइसकेको हो।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो। विभिन्न इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए।

म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए।

गत वर्ष म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भएको पोखरा म्याारथन पोखरा रंगशालादेखि सुरु भएर फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन भएको हो। सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा रन फर फनअन्तर्गत सयौं धावक एकै पटक दौडिँदा पोखरा गुलजार बनेको थियो।

प्रकाशित: ५ फागुन २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =