कोरियाले कृषि र उद्योगबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने!

रमेश भारती ४ फागुन २०८० १७:५४
132
SHARES
कोरियाले कृषि र उद्योगबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने! वैदेशिक रोजगारीका लागि कोरिया हिँडेका नेपाली युवा त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ- दक्षिण कोरियाले सन् २०२४ मा उद्योग तथा कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार नलैजाने भएको छ। कोरियाले यसै वर्षदेखि नेपालबाट सात क्षेत्रमा ईपीएसमार्फत कामदार लैजाने प्रस्ताव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गत वर्ष नै गरेको थियो। गत पुसमा दुई युवाको ज्यान जाने गरी ललितपुरमा भएको घटनापछि कोरियाले तत्काल उत्पादन र कृषिबाहेकका क्षेत्रमा नेपाली कामदार लैजान चासो नदिएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए।

कोरियाले कोरियन भाषा परीक्षामार्फत ई-९ भिसाअन्तर्गत सूचना प्रविधि (आईटी), यातायात, रेस्टुरेन्ट, क्याफे, सुविधा स्टोर, उद्योग, पानीजहाज निर्माण, निर्माण क्षेत्र र होटलजस्ता सेवा क्षेत्रमा नेपाल कामदार लैजाने प्रस्ताव गरेको थियो। पुसमा भएको घटनापछि कृषि र उद्योगबाहेकका क्षेत्रमा नेपाली कामदार लैजान कोरियाले चासो नदिएको श्रम मन्त्रालयका ती अधिकारीले जानकारी दिए।

कोरियाले पुसयता कृषि र उद्योगबाहेकका क्षेत्रमा कामदार लैजाने विषयमा छलफलका लागि चासो दिन छाडेको छ। ‘कोरियाले यसै बर्षदेखि ई-७ भिसा र घरेलु कामदार पनि नेपालबाट लैजाने प्रस्ताव गरेको थियो। सोहीअनुसार नेपालले श्रम सम्झौता परिमार्जनका लागि तयारी गरिरहेको थियो। गत पुसदेखि कोरियाले कृषि उद्योगबाहेकका क्षेत्रका कामदार लैजान चासो दिएको छैन’, ती अधिकारीले भने। उनका अनुसार नेपालले रेस्टुरेन्ट, क्याफे, डिपार्टमेन्टल स्टोर र होटल क्षेत्रमा कामदार पठाउन छलफलका लागि पहल गरिरहेको छ।

यूएईमा हालै सम्पन्न अबुधाबी डाइलगको मन्त्रीस्तरीय बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग पनि यस विषयमा कोरियाका प्रतिनिधिले छलफल चासो नदिएका स्रोतको दाबी छ।

सन् २००८ देखि उद्योग र कृषि क्षेत्रमा कामदार लगिरहेको कोरियाले यसै वर्षदेखि पानीजहाज निर्माणमा नेपाली श्रमिक लैजान थालेको छ। पानीजहाज निर्माणका क्षेत्रमा जानका लागि तीन हजारभन्दा बढी नेपालीले कोरियन भाषा उत्तीर्ण गरेका छन्। उनीहरूलाई पठाउन थालिएको वैदेशिक रोजगार ईपीएस शाखाले जनाएको छ।

ई-९ भिसा प्राप्त गरेका विदेशी श्रमिकले उद्योग, निर्माण, माछापालन, पशुपालन र केही सेवा उद्योग, फोहोर प्रशोधन, खेतीपाती, रिसाइकल सामग्री संकलन, बिक्री तथा फ्रिजिङ भण्डारण, प्रकाशनजस्ता क्षेत्रमा समेतमा काम गर्न भिसा परिवर्तन गर्न पाउनेछन्। कोरियाले भने यी क्षेत्रमा सीधै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी कोरियामा ई-७ भिसा र अन्य क्षेत्रमा कामदार पठाउने विषयमा सरकारीस्तरमा छलफल भइरहेको बताउँछन्। उनका अनुसार कोरियाले नेपाली श्रमिक कृषि र उद्योगबाहेक अन्य क्षेत्रमा लैजान चासो राखेको छैन। त्यहीअनुसार नेपालले पनि तयारी गरिरहेको उनले बताए। ‘दुई महिनाअघि कोरिया जाने कामदारले गरेको आन्दोलन र अन्य केही प्रविधिक विषयमा छलफल भइरहेको छ। कोरियाले कृषि र उद्योगभन्दा बाहेकका क्षेत्रमा कामदार नलैजाने भनेको छैन’, भण्डारीले भने।

अहिले समस्या समाधान गर्ने गरी कोरियाको सम्बन्धित पक्षसँग छलफल भइरहेका कारण कामदार लैजाने-नलैजाने फरक विषय भएको उनको भनाइ छ। कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा सोमबारदेखि सञ्चालन हुँदैछ। ईपीएस शाखाले माघमा गर्ने परीक्षा फागुनका लागि सारेको थियो।

‘मेन्युफ्याक्चरिङ सेक्टर’का लागि १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएका थिए। उनीहरुको परीक्षा तीन चरणमा हुँदैछ। ईपीएसका अनुसार परीक्षा चैत २२ गते सम्म चल्नेछ। हालसम्म एक लाख १५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। कोरियामा ६० हजार नेपाली कार्यरत छन्।

गत आर्थिक वर्षमा २१ हजार नेपाली ईपीएसमार्फत कोरिया पुगेका थिए। चालु आर्थिक वर्षको सात महिनामा ९ हजारभन्दा बढी नेपाली कोरिया गएका छन्। दक्षिण कोरियाले ईपीएस प्रणालीअन्तर्गत नेपालसहित १६ वटा देशबाट कामदार लैजाने गरेको छ।

हाल कोरियामा कार्यरत नेपाली कामदारले मासिक दुई लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गरेका छन्। ईपीएसअन्तर्गत ई-९ भिसामा कार्यरत नेपाली कामदारले ई-७ भिसा परिवर्तन गरेर अन्य क्षेत्रमा काम गर्ने सुविधा कोरियाले दिएको छ।

नेपाली कामदार नलैजाने कोरियाको चेतावनी

कोरियाको ई-७ भिसा, ‘संकट’मा ईपीएस

प्रकाशित: ४ फागुन २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =