पोखरामा लिटरेचर फेस्टिभल सुरु

हिमाल प्रेस ३ फागुन २०८० २१:२२
22
SHARES
पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा- फेवाताल किनारमा बिहीबारदेखि ११औं संस्करणको ‘सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल २०२४’ सुरु भएको छ। ५ दिनसम्म चल्ने फेस्टिभलमा करिब ५५ सेसन सञ्चालन हुने छन्।

आयोजक बुकवर्म फाउन्डेसनलले सूर्य नेपालको मुख्य प्रायोजनमा सुरु गरेको शब्दशक्तिको उक्त उत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। उनले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए। साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ।

‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो। साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पु¥याउँछ।’ पोखरामा लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेको र यसले पोखराको पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्गमा देखाउन आवश्यक रहेको बताए। उनले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाए। उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए।

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए। ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन्। ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो,’ उनले भने।

फेस्टिभलकै अवसरमा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गरेका हुन्। मेयर आचार्यले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए। उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए।

कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरे। उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए।

सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ। उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन्। पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए।

फेस्टिभलका यस वर्ष पनि देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ। फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने छ।

विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको सहभागिता हुँदै छ। यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो। साथै उक्त पुस्तकमा आधारित ‘ओपन हाइमर’ चलचित्र बनेको छ। फेस्टिभलमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन्। उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन्। उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो।

विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन्। उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन्। उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो।

प्रकाशित: ३ फागुन २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =