साउदीमा जाँडरक्सी बेच्दा पाँच कोर्रा, १५ महिना जेल बसेर फर्किए गुरागाईँ

रमेश भारती २ फागुन २०८० १८:०४
238
SHARES
साउदीमा जाँडरक्सी बेच्दा पाँच कोर्रा, १५ महिना जेल बसेर फर्किए गुरागाईँ साउदी अरब

काठमाडौँ- १४ वर्षअघि मोरङका रुद्रप्रसाद गुरागाईँ वैदेशिक रोजगारीका लागि साउदी पुगे। उनलाई म्यानपावरले ग्रिल फिटिङको काममा पठाएका थिए। गुरागाईँसँग ग्रिलका बारेमा कुनै सीप थिएन। जसका कारण उनलाई कम्पनीले फलाम बोक्ने काम लगायो।

‘ग्रिलको काम नजानेपछि कम्पनीले फलाम बोक्न लगायो। त्यो काम गर्न गाह्रो भएपछि साउदी पुगेको सात महिनामै कम्पनी छाडेर भागेँ’, वैदेशिक रोजगार बोर्डको सचिवालयमा भेटिएका गुरागाईँले भने।

गुरागाईँ साउदीमा १३ वर्ष अवैध रूपमा बसेर हालै स्वदेश फर्किएका हुन्। साउदीमा सीडी, फिल्म, लक्की चिठ्ठा र अवैध रूपमा रक्सी व्यापार गरेर बसेको उनले जानकारी दिए। उनले भने, ‘साउदीमा अवैध रूपमा बस्दा सकेजति सबै अवैधानिक काम गरेँ। पैसा पनि कमाएँ तर बचाउन सकिनँ।’

साउदीमा अवैध व्यापार गर्ने बानी बसेका कारण लामो समय फर्किन मन नलागेको उनले बताए। ‘पहिला फिल्मको सीडी खुबै बेचियो। राम्रै कमाइ पनि भयो। सीडी व्यापारसँगै ‘लक्की ड्र’को चिठ्ठा पनि विदेशी नागरिकलाई खेलाइयो’, गुरागाईँले भने, ‘आठ वर्षअघि साउदी सरकारले फिल्म हेर्न दिने नयाँ नीति ल्याएपछि सीडी व्यापार भएन्। त्यसपछि ‘लक्की ड्र’ र रक्सी व्यापारतिर लागे। यो व्यापार कोरोना महामारीमा खुबै फस्टयो।’

गुरागाईँलाई साउदीका विभिन्न सहरमा आफूलाई ‘रक्से साइँला नेप्स’ भनेर चिन्ने गरेका थिए। उनी भन्छन्, ‘त्यही रक्से साइँला शब्दले मलाई १५ महिनाअघि फसायो।’ साउदीमा नौ वर्षदेखि नेपाली घरेलु जाँडरक्सी बनाएर बेच्न थालेको उनी बताउँछन्। लक्की ड्रको चिठ्ठा कटाउने बहानामा रक्सी व्यापार विस्तार गरेको उनले जानकारी दिए।

उनी व्यापारका लागि बंगाली र पाकिस्तानीलाई लगाउँथे। ‘साउदीमा पनि नेपालमा जस्तै घरेलु रक्सी र जाँड बनाएर व्यापार गर्‍यौँ। जाँड मोहीजस्तै हुने भएका कारण बोटल प्याक गरेर कम्पनी-कम्पनीमा पुर्‍यायौँ’, गुरागाईँले भने।

उनले घरेलु रक्सी उत्पादन गर्ने नेपालबाट मर्चा मगाउँथे। चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलु मदिरा बनाएर व्यापार गरेको उनले बताए। ‘साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिबानादेखि जेल सजाय हुन्छ। त्यहाँ घरेलु मदिरालाई अवैधानिक मानिन्छ। तर हामीले कहिले फलफूलको जुस, नरिवलको पानी, मोही र खरबजाभित्र भरेर व्यापार गरौँ’, गुरागाईँले भने।

साउदीका ११ सहर, कुवेत र बहराइनसम्म घरेलु रक्सी बनाएर बेचेको अनुभव गुरागाईँले सुनाए। उनका अनुसार साउदीको सहरबाहिर केही फार्मभित्र टहरा भाडामा लिएर रक्सी बनाउन काम गरियो। उनले भने, ‘हामीले साउदीको पाँच सहरमा जाँडरक्सी बनाउने ११ जना राई, तामाङ र लिम्बू समुदायका व्यक्तिलाई रोजगारी दिएका थियौँ। हामी तीनजना पक्राउ परेपछि उनीहरू पनि भागे।’

वैदेशिक रोजगारीका लागि साउदी पुगेका चार सय ८० जना नेपाली जेल परेका छन्। उनीहरू अवैध रूपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेल परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।

४८० जना नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न मुद्दामा पक्राउ परेको सूचना साउदी अध्यागमन विभागले दिएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले बताए। साउदी रोजगारीका लागि आएका विदेशी नागरिक अवैध बाटोमा लाग्दा जेल, ब्लडमनी र मृत्युदण्डसम्मको सजाय पाउने गरेको उनको भनाइ छ। साउदीमा रक्सी उत्पादन मुद्दामा पक्राउ परेका विदेशी नागरिकलाई ६ महिनादेखि सात वर्षसम्मको जेल सजाय र कोर्रा हान्ने कानुनी व्यवस्था छ।

यसरी कोर्रा खाएँ : गुरागाईँ

मसहित केही साथी मिलेर तीन वर्षदेखि कुवेत र बहराइनमा पनि अवैध रूपमा रक्सी मालवाहक ट्रकमार्फत पठाउन थालेका थियौँ। मलाई कुवेत र बहराइन रक्सी आपूर्ति गर्ने भारतीय, बंगाली र पाकिस्तानी ड्राइभरले सहयोग गरेका थिए। ती देशमा जाँड पनि बनाएर पठाउने गरेका थियौँ। पहिला बंगाली र पाकिस्तानीमार्फत रक्सी अवैधमा रूपमा बेच्यौँ। पछि म आफैँ रक्सी तस्करी पत्ता लगाएँ र व्यापार गर्न थालेँ। सुरुमा केही अप्ठ्यारो लागेको थियो। बानी हुँदै गयो।

१५ महिनाअघि हामीले बनाएको रक्सी खाएर नेपाली र भारतीय झगडा गरेछन्। झगडाले उग्र रूप लिएपछि कम्पनीले प्रहरी बोलाएर उनीहरूलाई जिम्मा लगाएछ। हामी प्रहरीले खोजी सूचीमा रहेछौँ। प्रहरीले हामीलाई रक्सी उत्पादन गर्न कम्पनी बाहिर समाएका कारण कडा कानुनी कारबाही हुनबाट जोगियौँ।

मदिराको मुद्दामा जेल परेको विदेशीलाई साउदी प्रहरीले समाएपछि कोर्रा हान्ने गरेको छ। साउदी प्रहरीले  भर्खरै यस्तो कानुन ल्याएको  हो। साउदीमा पक्राउ परेका विदेशी नागरिकलाई यातना दिन मिल्दैन। धार्मिक कानुनविज्ञले ल्याएको नयाँ कानुनअनुसार हामीलाई सजाय दिइएको रहेछ।

म र लमजुङका दुई साथी रक्सी व्यापारमा संलग्न भएको आरोपमा ११ हजार रियाल जरिबाना र १५ महिना जेल बसेर छुट्यौँ। जेलमा रहेका बेला साउदी प्रहरीले पाँच कोर्रा पनि  हाने। जेल परेको २३ दिनपछि साउदीको उच्च अदालतले ११ हजार रियाल जरिबाना, १५ महिना जेल र पाँच कोर्रा सजाय सुनाएको थियो। त्यहीँ सजाय काटेर अहिले स्वदेश फर्किएँ।

साउदी प्रहरीले कोर्रा हान्नुभन्दा तीन महिनाअगाडिदेखि दैनिक स्वास्थ्य परीक्षण गराउँथे। दैनिक डाइटिङ गराए। त्यसपछि रातिको १२ बजेतिर अँध्यारो कोठामा लगेर हरेक एक घण्टामा एक कोर्रा हिर्काएर सजाय दिन्थे।

कोर्रा हान्नुअगाडि एउटा औषधिसहितको सुई हानेका कारण कोर्रा हानेको दुई दिनसम्म केही थाहा भएन। त्यसपछि झमझमाउन थाल्यो। कोर्रा हानेपछि फिंगर प्रिन्ट गरे  अनि साउदीस्थित नेपाली दूतावासलाई जिम्मा लगायो। अनि नेपाल फर्किएँ।

कोर्रा हानेपछि हिँड्न समस्या भएका कारण अहिले काठमाडौँकै एक निजी अस्पतालमा उपचार गरिरहेको छु। साउदीमा रक्सी व्यापार गरेर इटहरीमा तीन कठ्ठा जग्गा र एकतले घर जोडेको छु। अब नेपालमै केही व्यापार गरेर बस्ने योजना छ।

प्रकाशित: २ फागुन २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =