राक्सिराङमा एकै गाउँका १२२ जना भाइरल ज्वरोका बिरामी, एक जनाको मृत्यु

हिमाल प्रेस २३ माघ २०८० १५:४१
10
SHARES
राक्सिराङमा एकै गाउँका १२२ जना भाइरल ज्वरोका बिरामी, एक जनाको मृत्यु

काठमाडौँ- मकवानपुरको राक्सिराङ गाउँपालिकाको एकै गाउँका १२२ जना भाइरल ज्वरोको संक्रमणबाट बिरामी भएका छन्। राक्सिराङ गाउँपालिका-९ टर्लिङमा एक हप्तायता भाइरल ज्वरो फैलिएको हो। ज्वरोकै कारण एक जनाको निधन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार काप्रीले हिमालप्रेसलाई जानकारी दिए।

‘राक्सिराङ गाउँपालिका वडा नम्बर ९ का धेरै जनामा भाइरल ज्वरोका बिरामी भेटिएका छन्। अहिलेसम्म १२२ जना बिरामी छन्,’ उनले भने,’ज्वरोकै कारण एक जनाको निधन भइसकेको छ।’ उनका अनुसार सोही गाउँका ५५ वर्षका टीकाबहादुर नगरकोटीको निधन भएको हो। उनको उपचारको क्रममा निधन भएको थियो।

भाइरल ज्वरो फैलिएको ठाउँमा चेपाङ र नगरकोटी जातीको बाक्लो बसोवास छ। बिरामी हुनेमा बालबालिकादेखि सबै उमेर समूहका छन्। बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएको काप्रीको भनाइ छ। मौसम परिवर्तनसँगै खानपानका कारण ज्वरो फैलिएको अनुमान छ।

गाउँपालिकाले प्रकोपकै रुपमा भाइरल ज्वरोका बिरामी बढेपछि स्वास्थ्य शिविर नै सञ्चालन गरिसकेको छ। ‘पहिलो चरणमा हेल्थ क्याम्प नै गरिसकियो,’उनले भने,’भोलि(बुधबार) फेरि चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली लिएर जाँदैछौँ। अवस्था सुधार हुँदैछ।’

प्रकाशित: २३ माघ २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =