गाउँ पस्दै बँदेल, त्रासमा स्थानीय

हिमाल प्रेस २१ माघ २०८० २०:०१
20
SHARES
गाउँ पस्दै बँदेल, त्रासमा स्थानीय प्रतिनिधिमूलक तस्बिर।

अछाम- यहाँ जंगली जनावर बँदेलको आतंकले गाउँ त्रसित बनेको छ। बँदेल गाउँमै पस्न थालेपछि स्थानीय दिउँसो समेत घरबाहिर निस्कन डराउने गरेका छन्।

मंगलसेन  नगरपालिका-६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई माघ ८ गते नुहाउन जाने बेला आक्रमण गरेको थियो। आक्रमणबाट उनी गम्भीर घाइते भएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो।

माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो। लसुनबारीबाट फर्किने समयमा बँदेलको आक्रमणबाट उहाँ सख्त घाइते भएकी थिइन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पनि थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल पठाइएको थियो।

बँदेल गाउँमै पस्न थालेपछि बँदेलले आक्रमण गर्ने डरले वडा नं ६ का जनतामा त्रास फैलिएको हो। नजिकैको जंगलबाट आएका बँदेलले गाउँमा आतंक मच्चाएर मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीय झुमा भण्डारीले बताइन्।

त्यसै गरी मंगलसेन-७ को जनालीबण्डालीमा पनि बँदेलले आतंक मच्चाएको छ। माघ १६ गते राति ११ बजेको समयमा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका थिए।

गाउँमा बिहेको भोज खाएर फर्किने क्रममा वडा नं ७ का १५ वर्षीय नेत्र जनालालाई र उनका आफन्त १७ वर्षीय महेन्द्र उखेडालाई आक्रमण गर्दा दुवै जना घाइते भएका थिए।

घाइतेमध्ये उखेडाको जिल्ला अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ। अर्का घाइते जनालालाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

अहिले पनि गाउँको वरिपरि तीन/चारको सङ्ख्यामा दिन र रातको समयमा बँदेल आउन थालेपछि यस ठाउँका नागरिकले आफ्नो सुरक्षाको माग गरेका छन्।

गाउँमा बँदेलले आतंक मच्चाएको गुनासो आउन थालेपछि बँदेल नियन्त्रणमा लिन प्राविधिक जनशक्ति अछाममा नभएकाले आवश्यक प्राविधिक टोली पठाउन प्रदेश वन निर्देशनालयलाई अनुरोध गरिएको डिभिजन वन कार्यालयका प्रमुख जनक उपाध्यायले बताए। -रासस

प्रकाशित: २१ माघ २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =