‘शक्ति केन्द्रको कोही पक्राउ गर्दा पार्टी, गठबन्धन र प्रतिपक्षी दलबाटै छुटाउन दबाब आयो’

हिमाल प्रेस १९ माघ २०८० १४:०७
30
SHARES
‘शक्ति केन्द्रको कोही पक्राउ गर्दा पार्टी, गठबन्धन र प्रतिपक्षी दलबाटै छुटाउन दबाब आयो’

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यविरुद्धका अपराधमा कसैलाई छुट दिन नसकिने बताएका छन्। शुक्रबार गण्डकीय प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि अपराधमा कसैले पनि छुट नपाउने बताएका हुन्।

उनले भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न। कसैलाई पनि जालसाजी गरेर ठग्ने छुट दिन सकिन्न। अपराधको काममा, ठगीको काममा, जालसाजीमा, लुटमा संलग्न कसैले पनि उन्मुक्ति पाउन सक्दैनन्।’

त्यस्तै गृहमन्त्री श्रेष्ठले शक्ति केन्द्रको कोही पक्राउ परे छुटाउन अनावश्यक दबाब दिने गरेको पनि स्वीकारे। ‘कोही राजनीतिक पृष्ठभूमिको पर्‍यो भने हाम्रो पार्टीको हो, गठबन्धनको हो, प्रतिपक्षको हो भनेर कराउन थाल्छन्,’ उनले भने, ‘कर्मचारी पक्राउ परे भने कर्मचारी उफ्रिन्छन्। उद्योगीलाई पक्रियो भने व्यापारीहरू उफ्रिन्छन्। हामीले कर तिरेका छौँ किन पक्रिएको भनेर वक्तव्यबाजी हुन्छ।’

उनले सरकारले निजी क्षेत्रलाई सँगै लिएर जाने नीति लिएको तर राज्यलाई नै लुट्दा छुट दिन नसकिने बताए। ‘हामीले निजीक्षेत्रलाई पनि सँगै लिएर जाने भनेकै छौँ। तर कसैलाई पनि राज्यलाई लुट्ने छुट छैन,’ उनले भने, ‘कसैलाई पनि जालसाजी गर्ने ठग्ने छुट दिन सकिँदैन।’

अपराधीलाई पक्राउ गर्दा छुटाउन दबाब दिए आफूले दिशा बदलेर काम गर्न बाध्य हुने पनि उनको भनाइ छ। ‘यसप्रकारको हामीलाई दबाब भइरह्यो भने हामी हाम्रो दिशा फेर्न सक्छौँ’, उनले भने, ‘कर्मचारी र सुरक्षानिकायले आफ्नो अडानमा दृढतापूर्वक उभिनुपर्छ।’

बिहीबार मात्रै उद्योगी अरुण चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अपचलन गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। उनी पक्राउ गरेलगत्तै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा सीआईबी पुगेर चौधरीसँगै पक्राउ परेका कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई छुटाउन दबाब दिएका थिए।

गृहमन्त्री श्रेष्ठले यसैतर्फ इंगित गर्दै दबाब आइरहेको बताएका थिए।

बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

प्रकाशित: १९ माघ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =