‘सेटिङमा दुईपल्ट यूएई पुगेर फर्किएको हुँ, अहिले कर्मचारीले मेसो मिलेन भने’

रमेश भारती १९ माघ २०८० १८:५६
208
SHARES
‘सेटिङमा दुईपल्ट यूएई पुगेर फर्किएको हुँ, अहिले कर्मचारीले मेसो मिलेन भने’ एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ– दुई साताअघि धादिङका केशव पुरी भिजिट भिसामा यूएई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। सबै तयारी पूरा गरेर विदेश उड्न लागेका उनलाई अध्यागमन विभागका कर्मचारीले कागजपत्र नपुगेको भन्दै विमानस्थलमै रोकिदिए। पुरी एजेन्ट नवराज परियारमार्फत भिजिट भिसामा यूएई जान लागेका थिए।

उनी यूएई हुँदै वैदेशिक रोजगारीका लागि युरोप जान लागेको बताउँछन्। यसका लागि उनले परियारलाई साढे तीन लाख बुझाएका थिए। उनले भने, ‘एजेन्टले यूएई हुँदै जर्मन पठाइदिन्छु भनेका थिए। अध्यागमनले रोकेपछि प्रलोभन देखाएको स्पष्ट भयो।’ परियारबाट आफूसहित पाँचजना ठगिएको पुरी बताउँछन्। अहिले एजेन्ट सम्पर्कविहीन रहेको उनले बताए। पाँचैजना तिनै एजेन्टलाई खोज्दै काठमाडौँमा भौँतारिरहेका छन्।

‘एजेन्टले गौशालाको एउटा होटलमा बोलाएर सबै सेटिङ मिलेको छ, तपाईँहरूले अध्यागमन चेकिङमा बसेका प्रहरीले कागजपत्र ठिक छ भन्दा मुख बंग्याउनू भनेको थियो,’ उनले भने, ‘हामी सबैले एजेन्टले भनेजस्तै गरेका थियौँ। एजेन्ट र अध्यागमनका कर्मचारीबीच पैसा लेनदेन नमिलेका कारण हामी रोकिएको पछि मात्रै थाहा पायौँ।’

एजेन्टले भिजिट भिसामा जानेसँग अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५० हजार बुझाउनुपर्ने उनीहरूलाई बताएका थिए। पुरीले भने, ‘हामी जाने दिनचाहिँ एजेन्टले अध्यागमनका कर्मचारीलाई १० हजार मात्र दिएका रहेछन्। सोही कारण फर्काएको जानकारी एजेन्टले दिए।’

यूएईबाट जर्मन पुगेपछि ९ लाख रुपैयाँ तिर्ने सर्त थियो। पुरीसँग एजेन्टले कागजात बनाउन ४० हजार रुपैयाँ लिएका थिए। दुई महिनाअघि भिजिट भिसामा यूएई पुगेका गाँउकै दाइमार्फत परियारको सम्पर्कमा पुगेको पुरीले बताए।

पुरीजस्तै भिजिट भिसामा कतार हिँडेका विराटनगरका श्याम कटुवाललाई पनि दुई साताअघि अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काइदिए। उनी फर्काइनुको कारण पनि कागजपत्र नपुगेको भन्ने थियो।

एजेन्टले कतार हुँदै वैदेशिक रोजगारीमा मौरिसस पठाउने भनेपछि भिजिट भिसामा कतार हिँडेको कटुवाल बताउँछन्। उनलाई पोखराका भक्तबहादुर श्रेष्ठले पाँच लाख रुपैयाँ लिएर भिजिट भिसामा कतार हुँदै मौरिसस पठाउने बाचा गरेका थिए। कटुवालले भने, ‘दुई महिनाअघि उनै श्रेष्ठले पठाएका सातजना साथी कतार हुँदै माल्टा पुगे। साथीकै सल्लाहमा म पनि एजेन्ट श्रेष्ठमार्फत मौरिसस जाने भनेर भिजिट भिसामा कतार जान लागेको थिएँ।’

दुई पटक भिजिट भिसामा यूएई गई काम गरेर फर्किएका कुटवाल यसपटक भने रोकिएका छन्। दुई दिनअघि भिजिट भिसामै उनै श्रेष्ठले पठाएका ९ जना साथी कतार पुगेको कटुवालले बताए। उनले भने, ‘विमानस्थलका कर्मचारी र एजेन्टको सेटिङमा यसअघि दुईपटक यूएई पुगेर फर्किएको हुँ। यसपटक कसरी रोकिएँ भनेर सोध्दा विमानस्थलका कर्मचारीले मेसो मिलेन मात्र भने।’

विमानस्थलका कर्मचारी निष्पक्ष भएर काम गर्ने हो भने ८० प्रतिशत नेपाली भिजिट भिसामा जान नपाउने कटुवालको दाबी छ। उनले भने, ‘भिजिट भिसामा गएर ९० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेका छन्। यो तथ्य सबैलाई थाहा छ।’

कागजपत्र मिलाउँदादेखि अहिलेसम्म भिजिट भिसामा जान एजेन्टलाई ९ लाख बुझाएको उनको भनाइ छ। एजेन्टले अझै आश्वासन दिइरहेको उनले बताए। ‘नआत्तिनू म मिलाउँदैछु भनेर बेलाबेला फोन गर्ने गरेका छन्,’ उनले भने।

दुई साताअघि कटुवालसहित ७३ जनालाई अध्यागमन विभागले कागजात नपुगेको भन्दै विमानस्थलबाटै फर्काएको थियो। तीमध्ये ३० जनाभन्दा बढी महिला थिए। उनीहरू सबै भिजिट भिसामा कुवेत, कतार र यूएई हिँडेको बताएको कटुवालको भनाइ छ।

त्यसपछि भिजिट भिसामा विभिन्न देश हिँडेका ८५ जनालाई अध्यागमन विभागले रोकेको थियो। अध्यागमन विभागका प्रवक्ता प्रेमप्रसाद दाहालले उनीहरू भिजिट भिसामा भनेर वैदेशिक रोजगारीका लागि एजेन्टमार्फत विभिन्न देशमा हिँडेको पाएपछि रोकेको बताए। उनले भने, ‘भिजिट भिसामा भनेर एजेन्टको लहलहैमा लागेर वैदेशिक रोजगारीमा जाने गरेका छन्। यसरी गएका व्यक्ति विभिन्न देशमा अलपत्र परेर बस्नुपरेको छ।’

एजेन्ट र अध्यागमनका कर्मचारीबीच पैसामा कुरा नमिल्दा मात्र भिजिट भिसामा जाने व्यक्ति रोकिन्छन् भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘भिजिट भिसा जाने व्यक्तिको कागजपत्र पुगेको भए रोक्न मिल्दैन तर एजेन्टमार्फत जाने व्यक्तिको कागजपत्र मिलेको हुँदैन। त्यही भएर रोकिन्छ।’

अध्यागमन विभागका अनुसार वैशाखयता भिजिट भिसामा विभिन्न देश हिँडेका दुई हजारभन्दा बढी कागतजात नमिलेका व्यक्तिलाई फर्काइएको छ। तीमध्ये कतार र यूएई भिजिट भिसामा हिँडेका धेरै छन्। गत वर्ष विभागले भिजिट भिसामा विभिन्न देश हिँडेका ९ हजारभन्दा बढी नेपालीलाई विभागले रोकेको थियो।

विमानस्थलका अनुसार दैनिक तीन सयभन्दा धेरै भिजिट भिसामा बिदेसिने गरेका छन्। भिजिट भिसामा रोजगारीका लागि बिदेसिने गरेको गृह मन्त्रालयको विभिन्न अध्ययनमा उल्लेख छ। मन्त्रालयका अनुसार भिजिट भिसामा महिला बढी बाहिरिने गरेका छन्। यस्ता महिला खाडीका केही देशमा घरेलु कामदारमा संलग्न हुने गरेका छन्।

भिजिट भिसामा मान्छे विदेश पठाउने धन्दामा संलग्न भएका १२ सरकारी कर्मचारीमध्ये अध्यागमनका नरवीर खड्का, वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादव पक्राउ परेका छन्। भिजिट भिसाका नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौँमा मुद्दा दायर भएको छ। अधिकृत नरवीर खड्का कात्तिक २६ गते पक्राउ परेका थिए। उनलाई नगद दुई लाखसहित पक्राउ गरिएको थियो।

१२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताएका छन्। फरार रहनेमा आठ जना सरकारी कर्मचारी छन्। विमानस्थलमा अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।

प्रकाशित: १९ माघ २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =