बन्ध्याकरणमा पुरुषको ‘क्याम्प’ खाली

हिमाल प्रेस १८ माघ २०८० १६:५३
12
SHARES
बन्ध्याकरणमा पुरुषको ‘क्याम्प’ खाली

महोत्तरी- परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ/नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ।  जिल्लाका मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित क्याम्पमा पुरुषले सेवा लिन नपुगेकाले खाली देखिएको हो।

शिविरमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि बन्ध्याकरणको व्यवस्थासहित चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म पाँच नगरक्षेत्रमा सम्पन्न शिविरमा एक पुरुष पनि सेवा लिन नपुगेको कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिए।

‘हामीले एक महिना पहिलेदेखि पुरुष र महिलाका लागि बन्ध्याकरण शिविर सञ्चालन हुने भनेर प्रचारप्रसार गर्‍यौँर सोअनुसार व्यवस्थापन पनि गरिएको छ तर सेवा लिन हालसम्म एकजना पनि पुरुष पुग्नुभएको छैन’, उनले भने, ‘शिविर क्षेत्रमा देखिने पुरुष पनि महिलालाई नै बन्ध्याकरण गराउन पो पुगेका छन्।’ पाँच नगरक्षेत्रमा सम्पन्न बन्ध्याकरण शिविरमा ३४९ महिलाले भने स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन्।

जिल्लाका विभिन्न स्थानीय तह र जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बन्ध्याकरण विशेष शिविर जारी छ। प्रादेशिक अस्पतालमा पनि हालसम्म बन्ध्याकरण गराउन एकजना पनि पुरुष नपुगेको बुझिएको छ। अस्पतालमा हालसम्म ७६ महिलाले मिनिल्याप गराएका छन्।

शिविरमा पुरुष/महिला दुवैलाई लक्ष्य गरेर विशेष क्याम्प सञ्चालन गरिए पनि पुरुष क्याम्पमा सहभागी जनशक्ति र अन्य तयारीले कुनै काम नपाएको कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक अम्विका दासले बताए।

जिल्लाका गौशाला, सम्सी, लोहारपट्टि, बलवा, पिपरा र जलेश्वरसहित स्थानीयतहमा शिविर सम्पन्न हुन बाँकी छ। यता प्रादेशिक अस्पतालमा भने निरन्तर यो सेवाको प्रबन्ध मिलाइएको जनाइएको छ।

परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुष सहभागी नहुनु सुरक्षा शङ्का र आफूले बढी मेहनत गर्नेपर्छ भन्ने मानसिकता रहेको बुझिन्छ तर पुरुषका लागि बन्ध्याकरण अत्यन्त सरल, झन्झटरहित र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने हुने गरेको प्रमुख प्रशासक गुप्ताले बताए।

स्वास्थ्य सचेतना कार्यक्रममा यी विषयबारे निरन्तर जोड दिँदै आइए पनि बन्ध्याकरणमा पुरुषको सहभागिता नहुनु परिवार र समाजमा महिलाप्रतिको रुझान देखिने महिला अधिकारबारे पैरवी गर्ने महिला नेताहरूको प्रतिकृया छ।

‘बुझ्नु भएन, परिवार नियोजनको बन्ध्याकरणमा केही समस्या भए महिलाले नै भोगुन् भन्ने मानसिकता हो’, महिला अधिकारकर्मी भङ्गाहा–४ कि हिरा काफ्लेले भने, ‘के गर्नु ? आफैँले जन्माउनु र हुर्काउन पर्ने जिम्मेवारीले गर्दा महिला नै बन्ध्याकरणमा पुग्ने गरेका छन्।’ नगर्दा आफैँमाथि भार थपिने हुँदा पुरुष बन्ध्याकरणमा अनिच्छुक देखिएपछि महिला नै पुग्ने गरेका उनको भनाइ थियो। रासस

प्रकाशित: १८ माघ २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twelve =