 
                             
                                            पोखरा- सिटी म्याराथन अवधारणाअन्तर्गत झन्डै दुई दशकदेखि पोखरामा आयोजना हुँदै आएको पोखरा म्याराथनको तयारी पूरा भएको छ।
नेपाल भूतपूर्व खेलाडी मञ्चकाे आयोजनामा हुने पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथनसमेत हो। विभिन्न ९ इभेन्टमा हुने प्रतियोगितामा ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार रुपैयाँ प्रदान गरिँदैछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले प्रतियोगिता तयारी पूरा भएको बताए। म्याराथनमा ४२ दशमलब १९६ किमीको खुला म्याराथन, महिलातर्फ २१ दशमलब ०९७ किमीको हाफ म्याराथन, पुरुष/महिला १० किमी, छात्र/छात्रा ५ किमी, महिला/पुरुष भेट्रान्स ५ किमी, रन फर फन पनि हुनेछ। अपांगतातर्फको दौड भने गत साता पोखरा रंगशालामा सम्पन्न भइसकेको छ।
आयोजकका अनुसार खुला म्याराथनमा १ सय ८ जनाले र हाफ म्याराथनमा १ सय ७८ जना धावकले भाग लिएका छन्। यस्तै, १० किमी पुरुषमा १ सय २९ जना र १० किमी महिलामा २९ जना, ५ किमी छात्रतर्फ ९ सय ९० र ५ किमी छात्रातर्फ ४ सय ८६ जना दौडिदैछन्।
५ किमी महिला तथा पुरुष भेट्रान्समा १०/१० जनाले भाग लिएका छन्। रन फर फनमा सबैजना दौडिन सक्ने छन्। शनिबार एकैपटक हुने ती इभेन्टको रुट भने फरक-फरक तय गरिएको छ। म्याराथनमा विदेशी धावकको पनि सहभागिता छ। म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग हुनेछ।
पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुदबाटै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको म्याराथनलाई निरन्तरता दिइएको मञ्च अध्यक्ष पराजुलीले बताए। म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले यो इभेन्ट मञ्चको मात्र नभै सबै जनाको इभेन्ट हो भन्दै सफल पारिदिन सम्पूर्णमा आग्रह गरे।
प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्वअध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथन गत वर्ष म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भइसकेको र यसको रुटसमेत एम्सबाट प्रमाणीकरण भइसकेको जानकारी दिए।
विगतभन्दा यसपालि दौडिने रुट परिवर्तन गरिएको छ। उद्घाटन पोखरा रंगशालाबाटै सुरु भए पनि पोखराका विभिन्न भाग परिक्रमा गरेर धावक फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन हुनेछ। पोखरा म्याराथनको मुख्य प्रायोजक सुजल डेरीको उत्पादन सफल दूध हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 