बाँकेमा रक्षा संवाददाता अभिमुखीकरण प्रशिक्षण सुरु

हिमाल प्रेस १६ माघ २०८० १९:१८
22
SHARES
बाँकेमा रक्षा संवाददाता अभिमुखीकरण प्रशिक्षण सुरु

बाँके-  बाँकेमा रक्षा स‌ंवाददाता अभिमुखीकरण प्रशिक्षण सुरु भएको छ। आज (मंगलबार) राझास्थित श्री ४ नं बाहिनी अड्डा इमामनगर ब्यारेकमा सुरु भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ।

सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरूको सहभागिता छ।

तालिमको उद्घाटन गर्दै उत्तर पश्चिम पृतना हेडर्क्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पुर्‍याउन र  नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानव अधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिइन्।

उनका अनुसार पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानुनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिए।

सहभागीहरूलाई बर्दिया राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको भ्रमण गराउने योजना पनि रहेको सेनाले जनाएको छ।

प्रकाशित: १६ माघ २०८० १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =