अचेल त सहिदले हामीलाई मान्नुपर्ने जस्तो भएको छ। सहिदलाई हामीले मान्नुपर्थ्यो। परिस्थिति उल्टो भएको छ। नसहिदलाई मान्नुपर्ने अवस्था छ। सहिद दिवस औपचारिकतामा मात्रै सीमित भएको छ। सहिदप्रति हृदयदेखि श्रद्धा हुनुपर्थ्यो त्यो छैन। सहिदलाई हृदयदेखि श्रद्धा आदर, माया, सम्मान गर्ने हो। हामी त्यतातिर छैनौँ। आफ्नो फाइदाका लागि सहिदलाई प्रयोग गर्न मात्र कस्सिएका छौँ। त्यसले गर्दा उल्टो भइरहेको छ।
जथाभाबी सहिद घोषणा गर्ने चलन बढेको छ। जसलाई पनि सहिद भनिएको छ। यसबाट सहिद शब्दकै अवमूल्यन भएको छ। सहिदको त्याग, बलिदान, क्रान्ति नभएर चोरीमा गडबढ भयो भनेर गोली लागेर मर्यो भने पनि ऊ सहिद हुन्छ। त्यसले गर्दा सहिदको परिभाषा पनि बिग्रियो। अचेल सहिदलाई नाफाको व्यापार गर्न खोज्दैछौँ। सहिदका नाममा अरू फाइदा लिन खोज्दैछौँ भन्ने मेरो दृष्टिकोण हो।
हाम्रो पालामा सहिदप्रति धेरै श्रद्धा हुन्थ्यो। अहिले श्रद्धा छैन। करकाप मात्रै छ। सहिद श्रद्धाका पात्र हुन्। सम्मानका पात्र हुन्। अहिले सहिदलाई बेचेर पैसा नाफा गर्छन् कि जस्तो लाग्छ मलाई। शंका लाग्छ। कृत्रिम सहिदहरू छन्। सक्कली सहिदहरू धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल, दशरथ चन्द हुन्। लखन थापाहरू पनि सहिद हुन्। उनीहरू एउटा उद्देश्यका लागि सहिद भएका थिए। अहिले त सहिद बिक्रीको पात्र भएका छन्।
पञ्चायतका बेला ठूलो सास फेर्न पनि हुँदैनथ्यो। सरकारले हाम्रो विरोध गरेको हो भन्थ्यो। त्यो बेलामा भिन्दै थियो। अहिले भिन्दै छ। त्यो बेलामा इमानदारी थियो।
दशरथ चन्द त्रिभुवनलाई कुस्ती सिकाउने मान्छे हो। उहाँ त्रिभुवनको माध्यम हुनुभयो। नेपालको क्रान्तिलाई त्रिभुवनसम्म पुर्याउने, त्रिभुवनको कुरा क्रान्तिमा ल्याउने माध्यम हुनुहुभयो। ठूलो मान्छे हुनुहुयो। अहिले त्यसलाई हामी सम्झन सक्दैनौँ। हामी नाफा र फाइदा मात्र हेर्छौँ। यसैगरी गइरह्यो भने भविष्यमा सहिदको मूल्यांकन होइन अवमूल्यन हुन्छ।
[९६ वर्षीय पत्रकार रिसालसँग रमेश दवाडीले गरेको कुराकानीमा आधारित]