लुम्बिनीमा दैनिक एक लाखसम्म दीप प्रज्वलन स्थल स्थापना

हिमाल प्रेस १२ माघ २०८० १९:३८
52
SHARES
लुम्बिनीमा दैनिक एक लाखसम्म दीप प्रज्वलन स्थल स्थापना

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्धमार्गीहरूलाई मध्यनजर गरी दीप प्रज्जवलन स्थल स्थापना गरिएको छ। लुम्बिनी दर्शनका लागि आएका बौद्धमार्गीहरूले पर्याप्त मात्रामा दियो बाल्न नपाएको गुनासो आएपछि लुम्बिनी विकास कोषले दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने गरी दीप प्रज्जवलन स्थापना गरेको हो।

बौद्धमार्गीहरूमा दियो बाल्ने परम्परा रहेकाले त्यसैलाई मध्यनजगर गरेर दियो सेड स्थापना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए। ‘भगवान बुद्धको जन्मस्थलमा बत्ती बाल्ने ठाउँ नहुने कुरा विडम्बना हो, यहि कुरालाई मध्यनजर गरेर दियो सेड निर्माण गरिएको छ’ उपाध्यक्ष डा. लामाले भने।

उपाध्यक्ष लामाकै पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी दीप प्रज्जवलन स्थल सञ्चालनमा ल्याइएको छ। संसारभरका बौद्धमार्गीहरू लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने स्थल बनाएर सुविधा थपेको  उनको भनाइ छ। उनका अनुसार अझै चारवटा दीप प्रज्जवलन स्थल बन्नेछ। मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो आएकाले मन्दिर परिसर बाहिर दीप प्रज्जवलन स्थल निर्माण गरिएको उनले बताए।

महायानी बौद्धिष्टहरूले आफ्नो परिवारको स्मृतीमा प्राय दियो बाल्ने प्रचलन रहन्छ। दीप प्रज्जवलन स्थलले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरिक आम्दानीसमेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

उद्घाटनलगतै उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर सुरुवात गरेका छन्। पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरूबाट प्राप्त भएको थियो। शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए।

प्रकाशित: १२ माघ २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =