सकियो सगरहवा मूर्ति कार्यशाला

हिमाल प्रेस ८ माघ २०८० २१:४६
104
SHARES
सकियो सगरहवा मूर्ति कार्यशाला

लुम्बिनी- कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ।

लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरूको आयोजनामा कार्यशाला १५ दिनका दिन समापन गरिएको हो।

राष्ट्रियस्तरमा ख्यातिप्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकारहरूले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन्।

कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य बिमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताइन्। उनले कपिलवस्तु खुल्ला संग्रहालयका रूपमा रहेको तर यहाँको बुद्धकालीन स्थलहरूको प्रचारप्रसार र विकास हुन नसकेको बताइन्।

यस्तै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयको अपनत्वमा कार्यशाला मार्फत पर्यटनको निभ सुरु भएको बताए। उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्त्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुने बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्तिकार्यशाला प्राज्ञिक, सांस्कृतिक प्राविधिक र ऐतिहासिक काम भएको बताए। उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए। उनले यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठानहरू स्थापना गर्न आग्रह गरे।

कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एवं लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए। उनले ठेक्कापट्टाबाट गरिने कामले जनतालाई जोड्न नसकिने बताउँदै ओझेलमा परेको सगरहवाको ऐतिहासिकता र महत्व अब मूर्ति मार्फत आम नागरिकले बुझ्न पाउने बताए।

त्यसैगरी कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले कुनै बेला आफू लुम्बिनी विकास कोषले कपिलवस्तुलाई हेरेन भनेर देशभरि साइकल यात्रा गरेको स्मरण गर्दै अहिले कार्यशाला गरेर कोषले कामको सुरुवात गरेको बताए। उनले मूर्ति बन्ने बित्तिकै पर्यटकहरूको ओइरो लाग्ने नभई कामको सुरुवात भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटबाट ६ कि.मी. उत्तरमा छ।  पूर्वपश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुुपहरू र धेरै संख्यामा साना स्तुप भेटिएको थियो। स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री प्राप्त भएका थिए। जगदीशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: ८ माघ २०८० २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =