बागमती सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्ने

हिमाल प्रेस ८ माघ २०८० १९:०८
4
SHARES
बागमती सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई उद्धार गर्ने

मकवानपुर- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोखिममा परेका गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सुरु गर्ने भएको छ। प्रदेश सरकारले गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्न गत भदौमा सो सेवासम्बन्धी मन्त्रिपरिषद्को बैठकले कार्यविधि स्वीकृत गरेको थियो। यस सेवाले प्रदेशका काठमाडौँ र ललितपुरबाहेक ११ जिल्लाका स्थानीय तहलाई समेट्ने छ।

गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि प्रदेश राजपत्रमा प्रकाशित भएसँगै कार्यक्रम कार्यान्वयनमा आउने भएको हो।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्‍याउन हवाई उद्धार सेवा प्रदायक संस्थाको छनोट गर्नुपर्ने व्यवस्थाअनुसार बोलपत्र आह्वान गर्ने तयारी गरिएको जानकारी दिए। उनले बोलपत्र आह्वानपछि प्रतिस्पर्धाका आधारमा छनोट भएका हवाई उद्धार सेवा प्रदायक संस्थासँग सम्झौता गरी निःशुल्क उद्धार सेवा सुरु गर्ने बताए।

प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले यसअघि बनेको कार्यविधिमा समिति निर्माण लगायतका केही विषय छुट भएकाले कार्यविधिको नाम परिवर्तन गरी छुटेका विषय समेटेर नयाँ कार्यविधि बनाइएको बताए। भुसालले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि ४० लाख बजेट विनियोजन भएको बताए। रासस

प्रकाशित: ८ माघ २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =