नामको मन्त्रीस्तरीय बैठकमा साउदले भने : नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन

हिमाल प्रेस ३ माघ २०८० १८:४१
34
SHARES
नामको मन्त्रीस्तरीय बैठकमा साउदले भने : नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

युगाण्डाको कामपालामा जारी असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताएका हुन्। उनले भने, ‘हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं।’

परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको बताएका छन्। मन्त्री साउदले थपे, ‘आज हामी हाम्रो झण्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूको बारेमा सचेत छौं। जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, र हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ।’

मन्त्री साउदले बहुपक्षीयता प्रवर्द्धनमा नामले निर्णायक भूमिका खेल्नुपर्नेसमेत बताएका छन्।  उनले भने,  ‘शान्तिपूर्ण खोज्दै, संयुक्त राष्ट्र बडापत्र र अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्दै विवादहरूको समाधान, विश्वव्यापी वित्तीय संरचना सुधार, साझा समृद्धिको लागि एक मात्र विश्वव्यापी आर्थिक व्यवस्था सिर्जना गर्दै नामले भूमिका खेल्नुपर्छ।’ यस्तै उनले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकामा जोड दिएका छन्।

नामको १९औँ शिखर सम्मेलन माघ ५ देखि ६ गतेसम्म युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ ४ गते त्यसतर्फ प्रस्थान गर्दैछन्।

शिखर सम्मेलन अघि आजदेखि दुई दिने मन्त्रिस्तरीय बैठक सुरु भएको हो। शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरेका थिए।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रियरूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो।

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ:

प्रकाशित: ३ माघ २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =