ब्याजदर घटाउँदै बैंक, कर्जामा छैन आकर्षण

रमेश भारती २ माघ २०८० १९:०७
110
SHARES
ब्याजदर घटाउँदै बैंक, कर्जामा छैन आकर्षण

काठमाडौँ- गत आर्थिक वर्षदेखि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन्। ब्याजदर घटे पनि ऋण लिने व्यक्ति, व्यापारी, लगानीकर्ता र अन्य क्षेत्रका सेवाग्राहीको आकर्षण नबढेको राष्ट्र बैंकको आर्थिक मासिक समीक्षाले देखाउँदै आएका छन्।

महिनैपिच्छे बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। माघदेखि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.८२ प्रतिशत घटाएका छन्। पुसमा भने यस्तो ब्याजदर ९.९९ प्रतिशत थियो। अब औसतमा ९.१७ प्रतिशत कायम भएको छ।  यसअघि २०७५ सालमा पनि बैंकहरूले यसरी ब्याजदर घटाएका थिए।

मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कुल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन्। त्यसमध्ये ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएको बैंककै तथ्यांकमा छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी भएको हो।

निक्षेपको ब्याजदर परिवर्तन गर्दा १० प्रतिशतमात्र तलमाथि गर्न पाउने व्यवस्था र संस्थागत मुद्दती निक्षेपको ब्याज सर्वसाधारण मुद्दतीभन्दा दुई प्रतिशत बिन्दु तल हुनुपर्छ भन्ने व्यवस्था छ। अहिले यही नियम राष्ट्र बैंकले लागू गरे पनि कर्जा लिन कसैले चासो नदिएको बैंकहरू बताउँछन्।

पुसमा राजस्व र अन्य कारण तरलता र बैंकिङ क्षेत्रमा केही दबाब देखिए पनि माघदेखि बैंकको कर्जा प्रवाह बढ्न सक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए। उनले भने, ‘गत आर्थिक वर्षदेखि कर्जा प्रवाहमा केही समस्या देखिएको छ। अब समाधान हुँदै जानेछ।’ सरकारले पनि आर्थिक मन्दीको समस्या समाधान गर्न कर्जामा प्रवाहमा सरलीकरणको बाटो खोजिरहेको उनले बताए।

नेपालमा २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स गरी ५४ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। यिनै वित्तीय संस्थाले कर्जामा लगानी गर्दै आएका छन्।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्ममा वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गरेका हुन्। यसको ४० प्रतिशत वित्तीय संस्था कर्जामा लगानी गर्दै आएका छन्। पछिल्लो समयमा खुद नाफा पैसासमेत कर्जामा लगानी नभएको गुनासो बैंकहरूको छ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसीले पछिल्लो समय कर्जाको ब्याजदर घट्दै गएको र अहिले निक्षेपको ब्याजदर बढेकाले लागत केही घटेको उनले बताए।

उनका अनुसार अर्थतन्त्रमा समस्याभन्दा पनि चुनौती, मूल्यवृद्धि, सरकारको आम्दानीको तुलनामा खर्चमा धेरै हुनु अनिश्चितताको वातावरण र बैंकिङ क्षेत्रको खराब कर्जामा वृद्धि हुनु मुख्य चुनौती हो। यो समयामा नेपालमा मात्रै होइन। गत वर्षदेखि विश्वभर अनिश्चितता देखापरेको उनले बताए।

‘नेपालको अर्थतन्त्रमा सधैँ संरचनात्मक समस्या देखियो। उद्योगी-व्यवसायीहरूले दीर्घकालीन योजना बनाइरहेका छैनन्। यसले मानिसमा आत्मविश्वास कम हुँदै गएको देखिएको छ। जसका कारण पनि कर्जा प्रवाह घटेको हो,’ केसीले भने, ‘बैंकहरू पारदर्शी छन्। हामी नियमनको दायरामा बसेर काम गरिरहेका छौँ। हाम्रो कार्यसम्पादन विदेशी मुलुकका बैंकहरूको भन्दा कम छैन। नेपालजस्तै मुलुकको तुलनामा हामी सहज अवस्थामा आएका छौँ।’ आयात घटेकाले सरकारले पाउने राजस्व घटेको छ भने आम्दानीले खर्च नधान्ने अवस्था रहेको उनले बताए।

माघको नयाँ ब्याजदार

बैंकहरूको आधारदर बैंकपिच्छे फरक रहेको छ। बैंकहरूले अधिकतम व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याज दिने निर्णय गरेका छन्। पुसमा पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फ क्रमशः ९.३५ प्रतिशत र ६.६ प्रतिशत ब्याजदर दिएका थिए।

नेपाल बैंक, एभरेस्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले पनि समान ब्याजदर अर्थात् व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेका छन्। प्रभु बैंक र एनआईसी एसिया बैंकले माघमा समान ब्याजदर व्यक्तिगत र संस्थागततर्फ क्रमशः ८.०६५ प्रतिशत र ६.०६५ प्रतिशत कायम गरेका छन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याज दिने भएको छ। नबिल बैंक, ग्लोबल आइएमई, सिद्धार्थ र प्राइम कमर्सियल बैंकले पनि माघ महिनाका लागि व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याज प्रदान गर्ने तोकेका छन्।

यस्तै, कुमारी बैंकले पनि व्यक्तिगत मुद्दतीतर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर दिने भएको हो। माघमा सानिमा र हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याज दिने भएका छन्।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागत ५.७६ प्रतिशत, एनएमबी बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत र नेपाल एसबीआई बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

बैंकहरूले मासिक रूपमा नयाँ ब्याजदर तोक्न पाउने कानुनी व्यवस्था छ। बैंकले आयस्रोत र कर्जा प्रवाहका आधारमा नयाँ ब्याजदर निर्धारण गर्दै आएका छन्।

प्रकाशित: २ माघ २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =