‘चिरूचिरू मिचिरू’मा नीलो चराको खोजी

सुस्मिता बजगाईं २९ पुष २०८० २०:३९
256
SHARES
‘चिरूचिरू मिचिरू’मा नीलो चराको खोजी

काठमाडौँ- मध्यरातको मौसम हेरेर सपनामा ‘चिरूचिरू मिचिरू’ रमाइरहेका हुन्छन्। त्यतिकैमा एक जना सेतै फुलेकी वृद्धा आमा ढोकामा आउँछिन्। उनीहरूलाई नीलो चराबारे सोध्छिन्। आफ्नो बिरामी छोरी निको पार्न उक्त चरा चाहिएको बताउँछिन्। जुन चिरूचिरू र मिचिरुको बितेका हजुरबा-आमाले लिएर गएका हुन्छन्।

ती वृद्धाले उनीहरूले त्यो चरा ल्याउन सक्ने बताउँछिन्। हजुरबा-आमालाई भेट्ने पाउँछौ भन्दै फकाउँछिन्। उनीहरू ठूलो पीपलको रुखमुनि सुतिरहेका छन् भन्दै दुई पात्रलाई सपनाको दुनियाँमा पठाउँछिन्। जहाँ जान उनीहरूलाई जादूमय टोपी दिइन्छ। टोपी घुमाएपछि उनीहरू आफूले सोचेको ठाउँ भूत, भविष्य र वर्तमानमा पुग्न सकिन्छ भन्ने विश्वास दिलाउँछिन्।

साच्चिँकै उनीहरूले आफ्ना बितेका हजुरबा-आमालाई भेट्छन्। चरा मागेर ल्याउँछन्। त्यो चरा नक्कली परेको भन्दै चिरूचिरू मिचिरू फेरि भूतकालमा पुग्छन्। त्यहाँ उनीहरूले टोपीमा भएको हिरा देखाएर नीलो चरा पाउन सफल हुन्छन्। एक मात्र होइन थुप्रै चरा भेट्छन्। सपना पूरा भएको सम्झिन्छन्, जान्छन् तर ती हुन्छन् मरेका काला चरा।

फेरि उनीहरू भविष्यकालमा पुग्छन्। त्यहाँ पनि त्यो चरा पाउँदैनन्। अन्तमा वर्तमानमै आउँछन् र सक्कली नीलो चरा भेट्छन्।

महत्त्वपूर्ण कथा बोकेको पपेट नाटकले आउन नपाई जान हतार हुने भन्दै नातिनातिनी फर्कँदा हजुरआमाले आफूहरूलाई नबिर्सिन गरेको त्यो आग्रह र ‘हाम्रो खुसी भनेको नै तिमीहरू हौँ बाबु’ भन्दै हाम्रो सम्झना गरिरहनु भन्ने हजुरबाको बोलीले बाँचुञ्जेल पितृलाई खुसी पार्नुपर्ने नेपाली संस्कारलाई नभुल्न आग्रह गरिएको छ।

भूतकालमा उनीहरूले मृतात्मा, विभिन्न रोगबाट अकालमै मरेका बिरामी र युद्धमा मारिएकाहरू भेट्छन्। पैसाको अभावमा उपचार नपाएर मरेका बिरामीको कटाक्ष त्यस खण्डले गरेको छ। नीलो चरा खोज्दा उनीहरूले सपनाको थुप्रै ढोकाहरू भेट्छन्। त्यसमध्ये आफ्नो सही ढोका छानेर अघि बढ्दा सफल भइन्छ भन्ने सन्देश पनि दिन खोजेको छ।

अर्को खण्डमा उनीहरू भविष्यको सपना देख्छन्। त्यहाँ नजन्मिएका बच्चाहरूको पृथ्वीमा आएपछि के-कसो होला भन्ने उत्सुकता देखाउँछन्। यहाँ जन्मेपछि मानिस भविष्यका लागि जति नै भौँतारिए पनि एकदिन मर्नुपर्ने रीतलाई पनि देखाउन खोजिएको छ।

सुखद् अन्त्य भएको यस नाटकमा पपेटको प्रयोगले नाटक सशक्त देखिन्छ। उमेरले वयस्क भएकाहरू पनि नाटकमा पपेटमार्फत रमाएका देखिन्छन्। नाटकमार्फत समयको घेराबन्दी नै अन्तिम बिन्दु भन्दै हरेक मानिसको सपनाको उडानलाई नाटकमार्फत देखाउन खोजिएको छ।

हामीले देखेको सपना पूरा गर्न गर्नुपर्ने संघर्ष, जीवनको कालखण्डमा आउने उतारचढाव, भोगाइपछिको सफतला बालबालिकाले बुझ्न सक्ने गरी पपेटमार्फत देखाउने प्रयास गरिएको छ। नाटकमा चरा, समय बिम्बको रूपमा प्रयोग गरिएका छन्। कीर्तिपुरस्थित थिएटर मलमा आइतबार पपेट नाटक ‘चिरूचिरू मिचिरू’ मञ्चन गरिएको हो।

राराहिल स्कुलको हलमा मञ्चन गरिएको नाटकमा रंगकर्मी सवीर चुरौटे, शंकर भण्डारी, एलिना नकर्मी, सुस्मिता गुरागाईं, पूजा ढकाल, मन्जु गिरी, सौभाग्य सिंह राई, शोभा कार्की, रौनक कार्कीलगायतको अभिनय थियो।

जापानको थिएटर उतरभिजनका कला निर्देशक इरिना साजीको स्कृप्ट लेखन, निर्देशन र डिजाइन नाटक तयार पारिएको थियो। निर्देशक इरिनाकै पाँच जना टिमले नेपालमा पुस १९ अर्थात् ४ जनवरी देखि थिएटर मलमा पपेट नाटकसम्बन्धी १० दिने कार्यशाला सञ्चालन गरेका थिए। कार्यशालाको अन्तिम दिन सहभागीहरूले पपेट नाटक ‘चिरूचिरू मिचिरू’ मञ्चन गरेका हुन्।

यसअघि थिएटर मलले सन् २०१९ मा जापानको थिएटर कम्पनी उतरभिजनसँगको सहकार्यमा पहिलो पपेट कार्यशाला आयोजना गरेको थियो। नाटक थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मल, राराहिल मेमोरियल स्कुल, आसितेज नेपालको सहकार्यमा मञ्चन गरिएको हो।

प्रकाशित: २९ पुष २०८० २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =