उत्साहजनकरूपमा बढ्यो अलैँचीको मूल्य, प्रतिमन एक लाख पुग्ने अनुमान

हिमाल प्रेस २८ पुष २०८० १८:४०
16
SHARES
उत्साहजनकरूपमा बढ्यो अलैँचीको मूल्य, प्रतिमन एक लाख पुग्ने अनुमान फाइल तस्बिर।

काठमाडौँ- पूर्वी पहाडी जिल्लाहरूको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ। अलैँची प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँ माथि पुगेको नेपाल अलैंची व्यवसायीहरूले बताएका छन्।

अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ८२ देखि ८५ हजार रुपैयाँसम्ममा व्यापार भइरहेको छ। यो १५ वर्षपछिको उच्च मूल्य हो। यो वर्ष अलैँचीको मूल्य एक लाखसम्म पुग्ने सक्ने उनको अनुमानमा छ।

१५ वर्षअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो। तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रूपैयाँसम्म पुगेको थियो। अहिले १५ वर्षअघिकै मूल्य यो वर्ष पुग्ने संघका अध्यक्ष भट्टराईले जानकारी दिए।

अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरू उत्साहित भएको उनले बताए। ‘गत वर्ष अलैँचीको कारोबार प्रतिमन २५ हजार रुपैयाँबाट सुरु भएर ५९ हजार रुपैयाँ प्रतिमन बिक्री भएको थियो। उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी आवश्यक प्रक्रिया पुर्‍याएर भारततर्फ निकासी हुँदै आएको ,’ उनले भने।

अधिकांश अलैँची भारत निर्यात हुने गरेको छ। पाकिस्तान र खाडी मुलुकहरूमा पनि नेपाली अलैँची जाने गरेको संघका अध्यक्षको भनाइ छ।

अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ। गत वर्ष क ग्रेडको अलैंची ३१ हजार, ख ग्रेडको २९ हजार र ग ग्रेडको २६ हजारमा व्यापार भएको थियो। यस वर्ष सबै तहको अलैंची ६० हजारमाथि बिक्री भइरहको महासंघले जनाएको छ।

नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, लमजुङ र गोरखासहित २२ जिल्लाममा अलैँची उत्पादन हुने गरेको छ। ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा र भोजपुरका किसानको मुख्य नगदेबाली अलैँची हो।

चालु आर्थिक वर्षको मसान्तसम्म २३ लाख ७४ हजार ११० किलो अलैँची निर्यात भएको तथ्यांक छ। उक्त परिमाणको अलैँचीमा ३ अर्ब ९ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको जनाइएको छ।

गत आर्थिक वर्ष नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो। पूर्वी पहाडी जिल्ला र अरू जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ। उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ।

नेपाली अलैँची भारतसहित, पाकिस्तान, यूएई, कतार, साउदी, मलेसिया, श्रीलंका, अमेरिका, क्यानडा र युरोपेली देशमा निर्यात हुँदै आएको छ। नेपाली अलैंचीको भाउ भारतीय बजारमा पुगेपछि १० हजार फरक पर्ने व्यवसायी बताउँछन्। नेपालमा प्रतिमन ७४ हजारमा बिक्री भएको अलैँची भारतमा पुगेपछि ८० हजारभन्दा बढीमा बिक्री हुन्छ।

प्रकाशित: २८ पुष २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =