सञ्चार क्षेत्रको विकासमा सक्रिय छु : मन्त्री पाण्डे

हिमाल प्रेस २८ पुष २०८० १७:१५
18
SHARES
सञ्चार क्षेत्रको विकासमा सक्रिय छु : मन्त्री पाण्डे

लुम्बिनी- लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले सञ्चार क्षेत्रको विकासको लागि स्वतन्त्र ढंगले काम गरिरहेको बताएका छन्। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको मिडिया साक्षरता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले दलभन्दा माथि उठेर सबै क्षेत्रको विकासका लागि काम गरिरहेको बताए। उनले आफूले प्रतिनिधित्व गरेको पार्टी निकटका पत्रकारहरू नरहेको बताउँदै आफू कसैप्रति आग्रह वा पूर्वाग्रह राख्नपर्ने अवस्थामा नरहेको बताए। ‘मेरो दल निकट कुनै पत्रकार छैनन् त्यसैले पनि मलाई सबैको पक्षमा सहज ढंगले काम गर्ने अवसर छ’, उनले भने। उनले प्रदेश सरकारका तर्फबाट बनाउनुपर्ने कानुन र अन्य सञ्चार क्षेत्रको सबलीकरणमा काम गर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मिडिया साक्षरता अहिलेको आवश्यकता रहेको बताए। ‘मिडियाकर्मी र आमनागरिका लागि पनि मिडिया साक्षरता आवश्यक छ’, उनले भने, ‘समग्र मिडियाको प्रक्रियाबारे आमनागरिक पनि जानकार हुन जरुरी छ।’

मिडियाबारे कुनै गुनासो भएमा कसरी कानुनी उपचार खोज्ने भन्ने विषय पनि आमनागरिकले जान्नुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले मिडिया साक्षरताले मिडियाकर्मी र नागरिकका सम्बन्ध बलियो बनाउनसमेत सहयोग पुग्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले लुम्बिनी प्रदेश सरकारले गत वर्ष अनलाइन पत्रिकालाई दिएको अनुदान कटौती गरेकोमा दुःख व्यक्त गरे। सञ्चारको विकासका लागि काम गर्छु भन्ने सरकारले मिडियाले पाउँदै आएको अनुदान कटौती गर्न नहुने उनको भनाइ छ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका पत्रकारलाई मिडिया साक्षरता दिने गरी कार्यक्रम तय भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, रुपन्देही शाखाका उपाध्यक्ष अमृता अनमोल, प्रदेश सदस्य मीना ढकाललगायतले मिडिया साक्षरता जनप्रतिनिधिसमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए। तालिममा रूपन्देही र नवलपरासीका २५ जना पत्रकार सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =