अर्बपतिका असफल व्यवसाय

मस्त केसी २८ पुष २०८० १५:४२
588
SHARES
अर्बपतिका असफल व्यवसाय विनोद चौधरी । तस्बिर स्रोतः डेलीन्यूज डटकम

विनोद चौधरी
१६४७
काठमाडौँ, नेपाल
कुल सम्पत्ति : १ अर्ब ८० करोड डलर
– विनोद चौधरी सीजी कर्प ग्लोबलका अध्यक्ष र नेपालका एकमात्र डलर अर्बपति हुन्।
– उनको सबैभन्दा ठूलो आम्दानीको स्रोत नेपालको नबिल बैंक, होटल र सीजी फुडअन्तर्गतको लोकप्रिय चाउचाउ वाइवाइ हो।
– वाइवाइको कारखाना भारत, सर्विया, बंगलादेशमा छ। इजिप्टमा निर्माणाधीन छ।
– उनको सीजी होटलले भारतको चर्चित ब्रान्ड ताजको चेनका साथै विश्वभरका १४३ विलासी होटलको नेतृत्व र व्यवस्थापन सम्हाल्छ।
– उनका छोरा निर्वाण नेपालबाट व्यवसाय सम्हाल्छन्। राहुल र वरुण नेपाल बाहिरबाट विनोदलाई सघाउँछन्।

विश्वविख्यात अमेरिकी म्यागेजिन फोर्ब्सले सन् २०२३ को संस्करणमा विनोद चौधरीबारे लेखेको ‘इन्ट्रो’ हो यो। पिताले सुरु गरेको व्यवसायलाई विस्तार गरेर विश्वका धनाढ्यको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन्। उद्योग व्यवसायबाट आफ्नो नाम उचाइमा पुर्‍याउने पनि सम्भवत: चौधरी पहिलो नेपाली हुन्। उनको चर्चित वाइवाइदेखि सेवामूलक उद्योगका साथै सयौँ उद्योग व्यवसायमा लगानी छ। जसले उनलाई डलर अर्बपतिको नाम दिएको छ। केही उद्योगमा भने उनले अपेक्षाकृत् सफलता पाउन सकेका छैनन्।

युनिफाइड लाइसेन्स लिने दाउमा

आफूले गरिरहेको व्यवसाय र चलाइरहेका उद्योगले फाइदा दिएर डलर अर्बपति बनेका चौधरी केही व्यवसायमा भने नराम्ररी थला परेका छन्। यस्तै उद्योगमा परेको छ सीजी टेलिकम। गत मंसिर १६ गते नेपाल दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमको लाइसेन्स खारेज गर्‍यो। २०६० सालमा एसटीएम कम्पनीले दूरसञ्चार सेवा सञ्चालनका लागि प्राधिकरणबाट लाइसेन्स पाएको थियो।

एसटीएम कम्पनीले ग्रामीण दूरसञ्चार, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा, लिमिटेड मोबिलिटी, इमेल तथा इन्टरनेट सेवा सञ्चालनका लागि प्राधिकरणबाट लाइसेन्स पाएको थियो। २०६९ सालमा सोही कम्पनी चौधरीले खरिद गरेर सीजी टेलिकममा रूपान्तरण गरेका थिए।

तत्कालीन एसटीएमले लिएको सोही लाइसेन्स नवीकरणका लागि तोकिएको समयभित्र आवेदन नदिँदा कम्पनी खारेजीमा गएको हो। बढीमा २५ वर्षको अवधि हुने लाइसेन्स एकपटक १० वर्षका लागि मात्रै दिइने व्यवस्था दूरसञ्चार ऐन, २०५३ मा छ।

ललितपुरको सानेपास्थित चौधरी ग्रुपको मुख्यालय । तस्बिर स्रोतः सीजी ग्रुप

सञ्चार मन्त्रालय स्रोतका अनुसार चौधरी यतिबेला आधारभूत दूरसञ्चार सेवा (युनिफाइड) लाइसेन्सका लागि ‘लबिङ’ गरिरहेका छन्। २०७४ जेठ १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले सीजीलाई युनिफाइड लाइसेन्स दिने निर्णय गरेको थियो। तर निर्णय राजपत्रमा प्रकाशित हुनुअगावै प्रचण्ड नेतृत्वको सरकार फेरियो। उक्त निर्णय विवादित बनेपछि त्यसपछिका सरकारले यसलाई अगाडि बढाउने हिम्मत गर्न सकेनन्।

२०६९ सालमै सरकारले निश्चित क्षेत्रभित्र मात्र सीमित रहने ग्रामीण दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएकामध्ये कुनै एक कम्पनीलाई आधारभूत टेलिकमको लाइसेन्स दिने निर्णय गरेको थियो। यससम्बन्धी सूचना २०६९ जेठ १ को राजपत्रमा प्रकाशितसमेत छ। दूरसञ्चार प्राधिकरणले आधारभूत लाइसेन्स पाउनका लागि ग्रामीण दूरसञ्चारको लाइसेन्सअनुसार तोकिएको संख्यामा मोबाइलका टावर स्थापना गरी सेवा विस्तार गरेपछि मात्रै प्रक्रिया अगाडि बढ्ने सर्त राखेपछि सीजीले त्यसबेला आधारभूत दूरसञ्चारको लाइसेन्स पाउन सकेन। किनभने पूर्वाञ्चलमा सेवा सुरु गरेको सीजीले प्राधिकरणको मापदण्डअनुसार टावर स्थापना गरेको थिएन।

सुस्त सीजी नेट

तामझामका साथ २०७८ जेठमा सेवा सुरु गरिएको सीजी नेटको विस्तार अन्य कम्पनीको तुलनामा सुस्त छ। ठूलो व्यावसायिक घरानाले चलाउँदासमेत साढे दुई वर्षमा सीजी नेट काठमाडौँ उपत्यका र बाहिरका सीमित सहरबाट टाढा पुग्न सकेको छैन। सीजी नेट काठमाडौँ उपत्यकाका तीनसहित देशभरका १९ सहरमा मात्रै उपलब्ध छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा सात कम्पनीले फाइबर इन्टरनेटका ग्राहक करिब २२ प्रतिशतले बढाएका छन्। सबैभन्दा धेरै ग्राहकसंख्या सात लाख ८० हजार ओगट्दै वर्ल्डलिंक पहिलो नम्बरमा छ। एक वर्षमा वर्ल्डलिंकका ग्राहक १ लाखले बढेका छन्।

दोस्रो नम्बरमा डिस होमले ८४ हजार ग्राहक थप्दै गत आवसम्म दुई लाख ३० हजार ग्राहक पुर्‍याएको छ। गत वर्षसम्म सीजी नेटका कुल ग्राहक ५३ हजार ५०० मात्रै छन्।

सीजी सिमेन्ट

पाल्पा र नवलपरासीमा सीजी सिमेन्टका उद्योग छन्। पाल्पाको चाहिँ नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो। यसको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ। उद्योगले वर्षमा १३ लाख टन कंक्रिट उत्पादन गर्न सक्छ।

सीजी सिमेन्टले श्रीलंकामा उद्योग खोल्ने तयारीसमेत गरेको छ। दुई ठाउँ उद्योग र नेपालको नम्बर एक व्यावसायिक घराना भए पनि सीजी सिमेन्टको बजार भने एक नम्बरमा छैन। गत वर्ष भदौदेखि सीजी सिमेन्ट भारतीय बजारमा निर्यात हुन थालेको छ। यद्यपि सीजीले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी गरेको छ। यसले नेपालका साथै भारतीय बजारमा सीजी सिमेन्टको उपस्थिति बढाउने अपेक्षा गरिएको छ।

सीजी पे

२०७५ पुस १३ गते १ करोड चुक्ता पुँजीसहित नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा सीजी पेले अनुमति पाएको थियो। त्यसको एक वर्षअघिमात्रै खुलेका आईएमई पे, ईसेवाजस्ता भुक्तानी प्रदायकको दबदबाअघि सीजी पे कतै सुनिँदैन। सीजी पेभन्दा पछि खुलेका खल्ती, प्रभु पेलगायत कम्पनीले बजार लय समातेका छन्। यसका साथै चौधरी ग्रुपअन्तर्गतका युनाइटेड रेमिट, सीजी इनर्जी ड्रिङ्सलगायत उत्पादनले नेपाली बजारमा बलियो छाप बनाउन सकेका छैनन्।

जसले विनोद चौधरी बनाए

थोरै कम्पनीले बजार राम्रो लिन नसके पनि विनोद चौधरीले ‘लिड’ गरेका थुप्रै कम्पनीले विश्वबजार तताएका छन्। सीजी कर्प ग्लोबलअन्तर्गत २०२ कम्पनीका २६१ भन्दा बढी ब्रान्ड बजारमा छन्। सीजी कर्प ग्लोबलका कार्यालय नेपालका साथै विश्व अर्थतन्त्रका बलिया देश भारत, चीन, अमेरिका, सिंगापुर, यूएईजस्ता देशमा फैलिएका छन्।

चौधरीको अध्यक्षतामा चलेको सीजी फुड्स विश्वभर पुगेको छ। वाइवाइ नेपालको नम्बर १ नुडल्स ब्रान्ड हो। भारतमा तेस्रो धेरै बिक्री हुने नुडल्समा वाइवाइ पर्छ। ४० भन्दा बढी देशमा वाइवाइ वार्षिक दुई अर्ब ८० करोडभन्दा बढी प्याकेट बिक्री हुन्छ। सीजी फुड्सले भारतका सात स्थानबाट उत्पादन तथा बिक्रीवितरण गर्छ। सीजी फुड्सको सर्बिया, काजकिस्तान, बंगलादेश, इजिप्टलगायत देशमा प्लान्ट नै छन्। सीजी फुड्समार्फत वाइवाइमात्रै २० भन्दा बढी स्वादमा उत्पादन भइरहेको छ।

सीजी वेभरेजका विभिन्न उत्पादन पनि नेपाली बजारमा लोकप्रिय छन्। सीजी ब्रुअरीका नेपाल आइस, मुस्ताङजस्ता बियर नेपाली बजारमा निकै रुचाइएका छन्। सीजी हस्पिटालिटीले विश्वभर १४० ‘लक्जरी’ होटलको नेतृत्व र व्यवस्थापन गर्छ।

वित्त कम्पनीतर्फ सीजीको मुख्य लगानी रहेको नबिल बैंक नेपालमा सबै सूचकांकका हिसाबले अब्बल मानिन्छ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड पनि वित्तीय सूचकमा बलियो छ। नबिल बैंकको ‘सब्सिडरी’ कम्पनीका रूपमा भर्खरै नबिल सेक्युरिटिजले काम सुरु गरेको छ।

सीजी इन्फ्रा, सीजी डेभलपर्स, सीजी प्याकेजिङअन्तर्गतका विभिन्न उत्पादन चलेका छन्। सीजी इलेक्ट्रोनिक्स मातहतका एलजी, सीजी, बेको, सनसाइ, गोदरेज एप्लाइन्सेस, टीसीएललगायत सामग्री नेपालमा रुचाइएका ब्रान्ड हुन्। सीजी एजुकेसनअन्तर्गतका निनोस प्रि स्कुल, चाँदबाग स्कुल, दिल्ली पब्लिक स्कुल र क्याम्पियन स्कुल तथा कलेज नेपालका अब्बल शिक्षण संस्थामा पर्छन्।

हाउजिङमा समेत सीजी ब्रान्ड लोकप्रिय छ। पछिल्लो समय छोटो समयमै उनको सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा विद्युतीय गाडीले पनि नेपालमा राम्रो बजार लिएको छ।

प्रकाशित: २८ पुष २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =