थारु समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव आयोजना गर्ने, महोत्सव सफल बनाउन विभिन्न समिति गठन

हिमाल प्रेस २७ पुष २०८० ८:४१
14
SHARES
थारु समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव आयोजना गर्ने, महोत्सव सफल बनाउन विभिन्न समिति गठन

काठमाडौँ- थारु समुदायले आइतबार र सोमबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सव  आयोजना गर्ने भएको छ। काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरेर टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए।

थारु समुदायले २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव आयोजना गर्दै आएकाे छ। चौधरी भन्छन्,‘थारु समुदायको नयाँ वर्ष पनि भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन माघी महोत्सव मनाउने निर्णय गरेका हौं।’ उनको भनाइमा माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्नेछन्।

यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाउन लागिएको चौधरीले बताए।

माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ।जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा सत्यनारायण चौधरी सुमन, स्टल व्‍यवस्थापन उपसमितिको संयोजकमा चन्द्र प्रकाश चौधरी, प्रचारप्रसार तथा सदस्य सचिव संयोजकमा प्रदीप लेखी, किशोर चौधरी सदस्य, सहदेव चौधरी, विज्ञापन व्‍यवस्थापन उपसमितिको संयोजकमा चन्द्रप्रसाद चौधरी, सांस्कृतिक उपसमिति संयोजकमा नन्दुराज चौधरी, सदस्यमा रामस्वागत चौधरी, विनय वैद्य, मोटरसाइकल र्‍याली व्‍यवस्थापनको संयोजकमा अधिकार चौधरी, ब्लड डोनेशनमा पुष्पा चौधरी, झाँकी तथा र्‍याली व्यवस्थापनको संयोजकमा बर्दियाली विकास मञ्‍च, निसराउ व्‍यवस्थापन समितिमा थारू महिला समाज, थारू महिलासभा र अग्रासन महिला समूह, अतिथि सत्कार व्‍यवस्थापन उपसमितिमा थारू महिला समाज, थारू महिलासभा र अग्रासन महिला समूह, जिता मार्ने उपसमितिमा बर्दियाली विकास मञ्च, फोहोर व्‍यवस्थापन उपसमितिमा जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी रहेका छन्।

थारु समुदाय सम्बद्ध २० वटा संघसंस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन, परिकार, प्रदर्शनी एवम् बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए।

प्रचारप्रसार गर्ने उद्देश्यका साथ शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभूषा, बाजागाजा, संघसंस्थाको तुलब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी तथा र्‍याली प्रदर्शनसहित रत्नपार्क, सहिदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक उनको भनाइ छ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जितामार्ने कार्यक्रम राखिएको छ। रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जितामार्ने कार्यक्रमको संयोजन बर्दियाली थारु विकास मञ्‍चले गरेको छ।

यस्तै महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरूको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

बालुसिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारको राखिने छ। संयोजक चौधरीले महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए।

हस्तकला, पुस्तक प्रदर्शनी एवम् बिक्रीवितरणमा थारु हस्तकला तथा थारु जातिबारे लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल प्रदर्शनीमा राखिनेछ।

साथै थारु भेषभूषामा गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्री प्रदर्शनीमा राखिने छ। महोत्सव सफल बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।

प्रकाशित: २७ पुष २०८० ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =