‘चित्रा’ को प्रिमियरमा सन्तोषकाे चर्चा

हिमाल प्रेस २४ पुष २०८० १२:०६
50
SHARES
‘चित्रा’ को प्रिमियरमा सन्तोषकाे चर्चा

काठमाडौँ– शुक्रबारदेखि प्रदर्शनमा आउने लागेको फिल्म ‘चित्रा’ को प्रिमियर भएको छ। सोमबार काठमाडौँकाे बिग मुभिजमा प्रिमियर गरिएकाे हाे।

प्रिमियरपछि अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको प्रतिक्रिया दिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सन्तोष अधिकारीको काम डेब्यु अभिनेताको जस्तो नभई काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए।

‘फिल्म हेरिरहँदा नवनायकको अभिनय भन्ने देखिँदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको जस्तो देखिन्छ। बधाईं छ मेरो भाइलाई’ बोर्डका अध्यक्ष केसीले भने। उनले कलाकार प्रमोद अग्रहरिको पनि तारिफ गरे। फिल्म रमाइलो भएको बताउँदै भुवनले कथावस्तुले आफू भावुक भएको बताए।

फिल्मको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताइन्।

निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यु अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन्।

प्रिमियरमा यस्तै सहभागीहरुको समान प्रतिक्रिया थियो।

प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडालगायत उपस्थित थिए।

घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ शुक्रबारबाट प्रदर्शन हुनेछ। पारिवारिक कथाका आधारित फिल्ममा डेब्यु अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ।

फिल्म मनिष गौतमको पटकथा एवं संवाद लेखनमा बनेको छ। महेश पौडेलको छायांकन र बनिश शाह र सन्देश शाहको सम्पादन रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने कलाकार सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन्।

दर्शकले ‘चित्रा २’ हेर्न पाउने भएका छन्। प्रिमियरमै सिक्वेलका लागि कथा बाँकी राख्दै फिल्म सकिएको थियाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =