रुसी सेनामा भर्ती भएका नेपालीले कति पाउँछन् तलबसुविधा?

रमेश भारती २३ पुष २०८० ९:४९
218
SHARES
रुसी सेनामा भर्ती भएका नेपालीले कति पाउँछन् तलबसुविधा? रुसी सेनामा कार्यरत रहेको बताउने नरेन्द्र श्रेष्ठले फेसबुकमा पोस्ट गरेको तस्बिर ।

काठमाडौँ- अवैध रूपमा रुस पुगेर त्यहाँको सेनामा भर्ती भएका नेपालीले पाउने तलब र सेवासुविधाबारे अहिलेसम्म प्रस्ट भएको छैन। रुसी सेनामा भर्ती हुन जाने नेपालीसँग म्यानपावर, दलाल र एजेन्टले ९ देखि १४ लाख रुपैयाँसम्म लिने गरेका छन्। दलालहरूले आकर्षक सेवासुविधा पाइने प्रलोभनमा त्यति धेरै रकम लिने गरेका हुन्।

नेपाली युवा आकर्षक  तलबसुविधाको प्रलोभनमा  जोखिम मोलेर रुस गइरहेका छन्। रुसमा रहेका नेपालीका अनुसार युद्धग्रस्त देश रुसी सेनामा भर्ती हुनेमा नेपाली सेनाबाट अवकाशप्राप्त सैनिक पनि छन्। तर उनीहरूले यति नै सुविधा पाएका छन् भन्ने कतै उल्लेख छैन। साथै कुनै सरकारी निकायले यसबारे जानकारी लिन सकेको छैन।

रुस पुगेका युवाका परिवारका सदस्यले दिएको जानकारीअनुसार तालिम अवधिभरि उनीहरूले मासिक ६० हजार रुपैयाँ बराबर पारिश्रमिक पाउने भनिएको छ।  तालिम सकिएपछि मासिक एक लाख ९५ हजार  रुबल अर्थात् झन्डै तीन लाख रुपैयाँ पारिश्रमिक दिइने सम्झौता भएको हुन्छ। रुसी सेनामा भर्ती भएका नेपालीले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि तीनदेखि छ महिनासम्म तालिम लिनुपर्छ।

रुसी सेनामा भर्ती भएर मारिएका स्याङ्जा वालिङ नगरपालिका-१४ मान्खुका २३ वर्षका हरि अर्याल ९ लाख रुपैयाँ तिरेर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका थिए। रुस पुगेका विषयमा पहिला जानकारी नै नभएको र निधन भएपछि मात्रै परिवारमा खबर आएकाले तलबसुविधाबारे केही थाहा नभएको हरिकी भाउजू अम्बिकाले बताएकी छन्।

भर्ती भएको २ देखि ३ महिनामै नेपालीले ज्यान गुमाएका छन्। अहिलेसम्म ११ जना नेपाली युवाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। मृतक नेपालीले तलब पाएका थिए कि थिएनन् भन्ने परिवारले समेत खुलाएका छैनन्। कतिपय युवा त रुसी सेनामा भर्ती भएपछि परिवारको सम्पर्कमा आउँदैनन्।

एक वर्षको सम्झौता पूरा भएपछि रुसी पासपोर्ट र परिवार नै यहाँ ल्याउन पाइने आश्वासन दिएर एजेन्टले रुसी सेनामा नेपाली पठाइरहेका छन्। यस्तै जीवन बिमाबापत झन्डै १ करोड ८० लाख रुपैयाँ पाउने व्यवस्था रहेको रुसी सेनामा प्रवेश गरेका युवाले अनौपचारिक कुराकानीमा बताएका छन्।

उनीहरूका अनुसार युद्धका कारण रुसले सैनिक सेवामा पाँच वर्ष अवधि राखेर करार गर्ने गरेको छ। त्यसैले एकपटक रुसी सेनामा भर्तीका युवा पाँच वर्ष नपुगेसम्म फर्किन पाउँदैनन्। कतिपयले भने एक वर्षको मात्र करार हुने गरेको बताउँदै आएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसी सेनामा भर्ती भएका नेपालीले पाउने तलब सुविधाबारे कुनै जानकारी नआएको बताए।

राम्रो पारिश्रमिक पाइने भनेर रुस पुगेका युवाको निधनबाट राज्यलाई  ठूलो नोक्सानी भइरहेको रोजगारविज्ञ गणेश गरुङ बताउँछन्। उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन सरकारी तहबाट पहल हुनुपर्ने बताए।

‘रुसी सेनामा भर्ती भएका नेपालीका परिवारलाई त्यहाँको सरकारले क्षतिपूर्ति दिनुपर्छ। नेपालले नेपालमा रहेको रुसी राजदूतसँग कुरा गर्नुपर्छ। नेपालीको ज्यान गएको विषय छ’, उनले भने।  रोजगारीका लागि जतिसुकै जोखिमपूर्ण क्षेत्रमा पनि सुरक्षाकर्मी भएर काम गर्न तयार हुने प्रवृत्तिका कारण नेपाली युवाले एकपछि अर्को जोखिम मोल्दै आएको उनको भनाइ छ।

वैदेशिक रोजगारीमा पुगेका नेपाली पटकपटक जोखिममा पर्दै आएका छन्। केही घटनामा धेरै युवाले ज्यान गुमाउनुपरेको छ। सन् २००५ मा सुरक्षाकर्मीका रूपमा काम गर्न हिँडेका १२ जना नेपालीको इराकमा हत्या गरिएको थियो। सन् २०१६ मा १४ जना नेपाली सुरक्षाकर्मीको तालिवानी सेनाको बम विस्फोटमा परेर ज्यान गएको थियो। उनीहरु सबै रोजगारीका लागि युद्धग्रस्त देशमा पुगेका थिए। यसैगरी केही महिनाअघि इजरायलमा गएका १० नेपालीको ज्यान गएको थियो।

प्रकाशित: २३ पुष २०८० ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =