सूर्यदर्शन सहकारी ठगी प्रकरण : महेन्द्र भोटे र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस १८ पुष २०८० १९:०९
22
SHARES
सूर्यदर्शन सहकारी ठगी प्रकरण : महेन्द्र भोटे र भविश्वर अर्याल पुर्पक्षका लागि थुनामा

पोखरा- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोगमा शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन्। कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाको इजलासले बुधबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

उक्त सहकारी ठगीमा १९ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। यसअघि सोही प्रकरणमा सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल थुनामा गइसकेका छन्। अझै १५ जना फरार छन्।

फरारमध्ये सहकारी पूर्व सञ्चालक समिति सदस्यसमेत रहेका महेन्द्र भोटे र सञ्चालक समिति सदस्य भविश्वर अर्याल मंगलबारमात्र अदालतमा आफैं उपस्थित भएका थिए। उनीहरूको मंगलबार बयान लिइसकेपछि बुधबार थुनछेक बहस भएको हो।

प्रतिवादीमध्ये भोटेको तर्फबाट वरिष्ठ अधिवक्ता निर्मलबहादुर कार्की, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, रोहितराज बास्तोला र विष्णुप्रसाद शर्माले बहस गरेका थिए। यस्तै अर्यालको तर्फबाट नारायणप्रसाद पौडेल र तुलसीराम काफ्लेले बहस गरेका थिए। निवेदकको तर्फबाट सरकारी वकिल सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा, विपीनराज तिवारी र अधिवक्ता युवराज पराजुलीले बहस गरेका थिए।

उच्च अदालत बार एसोसिएसन पोखराका सचिवसमेत रहेका अधिवक्ता युवराज पराजुलीले पीडितको तर्फबाट आफूहरूको दाबी जिकिर भनेको सहकारी ऐन, २०७४ सम्बन्धी कसूरमा हदैसम्म कैद सजाय, बिगो भराई, बिगोबमोजिम जरिबाना नै भएको बताए। जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ३ सय ६५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो।

उक्त मुद्दामा अझै १५ जना प्रतिवादी फरार सूचीमा छन्। सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्व सञ्चालक समिति सदस्य महेन्द्र भोटेविरुद्ध समेत इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेकोमा पक्राउ पर्ने डरले भोटे हाजिर भएका थिए।

यसबाहेक सहकारी सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

पोखरा-४, नालाकोमुख कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताको बचत डुबेको हो। मोटो रकम संकलन गरेर अन्यत्र लगानी गरेको सहकारीले गत वर्षको भदौदेखि निक्षेप फिर्ता नसकेपछि सञ्चालक फरार थिए।

उक्त ठगी प्रकरणमा प्रहरीले गत ३२ साउनमा जाहेरी दिन सार्वजनिक सूचना जारी गरी १ हजार ३६ जनाको उजुरी संकलन गरेको थियो। सोबमोजिम २४ भदौमा जीबीसहित ७ जनालाई पक्राउ पुर्जी जारी गरिएको दोस्रो दिनमै सहकारी कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए। सहकारी उपाध्यक्ष दर्लामीले यसै साता पक्राउ परेका हुन्।

२०६५ सालमा पोखरामा खुलेको उक्त सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगर सहकारी शाखाले गठन गरेको विज्ञको प्रतिवेदनबमोजिम थप १२ गरी सहकारीका पूर्व सञ्चालक, हालका सञ्चालक, कर्मचारी लगायत गरी कुल १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। बाँकी १५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले बताए।

विज्ञको प्रतिवेदनअनुसार महेन्द्र भोटेले सहकारीबाट कम्तीमा साढे ८ करोड रुपैयाँ लगेको देखिन्छ। तर बयानका क्रममा उनले गोर्खा मिडिया नेटवर्कलाई सहकारीबाट ट्रान्सफर भएको ३० करोडको तमसुक रहेको र आफू पीडितको पक्षमै रहेको दाबी गरेको बयान दिएका छन्।

प्रकाशित: १८ पुष २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =