कुश्माका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस १७ पुष २०८० २१:४५
166
SHARES
कुश्माका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना पुर्पक्षका लागि थुनामा

पोखरा- पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी संस्थाको ठगी अभियोगमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले इजलासले मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। यस्तै सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा-१७, बिरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

स्याङ्जाको वालिङ नगरपालिका ११, धनपुरका उदयबहादुर पराजुली हाल कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। पोखरामा सहकारी रजिष्ट्रार हुँदा उनले एक करोडभन्दा बढी घुस लिएको अभियोग छ। उनलाई पर्वत प्रहरीले गत ११ पुसमा कुश्मा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरी कास्की प्रहरीको जिम्मा लगाएको थियो।

यसअघि पक्राउ परेका प्रतिवादीले मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा तत्कालीन रजिष्ट्रार पराजुलीलाई १ करोडभन्दा बढी रकम घुस दिएको बयान दिएका थिए। यसअघि, स्याङ्जा आँधिखोला ४ स्थायी घर भएका सहकारी अध्यक्ष ३२ वर्षीय रमण पौडेल, पोखरा २३, खोरापाखाका सहकारीका प्रमुख कार्यकारी अधिकृत २८ वर्षीय किरण अधिकारी कारागार चलान भइसकेका थिए। उनीहरू बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका थिए।

पोखरा नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन्। अझै २७ जना फरार छन्।

प्रकाशित: १७ पुष २०८० २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =