सीएनआई सर्वेक्षण : उद्योगहरूको मागमा ३७ प्रतिशतले संकुचन

हिमाल प्रेस १६ पुष २०८० १८:०८
8
SHARES
सीएनआई सर्वेक्षण : उद्योगहरूको मागमा ३७ प्रतिशतले संकुचन

काठमाडौँ- नेपाल उद्योग परिसंघ (सीएनआई)ले अर्थतन्त्र सुधार नभएको सुधार नभएको जनाएको छ। सीएनआईले आफूले गरेको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको नदेखिएको जनाएको हो। सरकारले पछिल्लो केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गरे पनि अवस्था त्यस्तो नभएको उसको भनाइ छ।

सीएनआईले जारी गरेको विज्ञिप्तमा उल्लेख छ, ‘समग्र बजार माग खस्किएको देखिएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।’ परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको दाबी गरेको छ। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको जनाएको हो।

सीएनआईका अनुसार सर्वेक्षणले औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८‍.२८ प्रतिशतले ह्रास आएको देखाएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२‍.०६ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ।

‘आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ। यसै गरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कुल ३०.५४ प्रतिशतले खुम्चिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४ प्रतिशत उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२  प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्। यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको आफूहरूको बुझाइ रहेको सीएनआईले जनाएको छ।

क्षेत्रगतरूपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाएअनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ। यसै गरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको देखिएको विज्ञप्तिमा जनाइएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कुल ४४.८२ प्रतिशतले संकुचन आएको देखिएको छ। परिसंघको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन्।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रियाअनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३ प्रतिशतले घटेको थियो।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतशितले संकुचन आएको पाइएको छ। यसै गरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कुल ५५.४२ प्रतिशतले संकुचन आएको देखिएको छ। यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसीजी क्षेत्रको माग २.५० प्रतिशतले बढेको थियो। तर यस वर्ष १७.७० प्रतिशतले गिरावट आएको देखिएको विज्ञप्तिमा उल्लेख छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ। यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८.५० प्रतिशतले घटेको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ। सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४१.६७ प्रतिशत यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५० प्रतिशत व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएको सीएनआईले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १६ पुष २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =